विशेष रिपोर्ट

ढल्केवरको भूमि प्रशासन कार्यालय लालगढ सार्न माग, निशुल्क घर दिने घोषणा

0 Shares धनुषा— धनुषाको ढल्केवरस्थित भूमि प्रशासन (साविक मालपोत) कार्यालय मिथिला नगरपालिका वडा नं १० लालगढमा स्थान्तरण गरिए निशुल्क घर उपलब्ध गराउने त्यहाँकी स्थानीय डुकु […]
[sharethis-inline-buttons]
ढल्केवरको भूमि प्रशासन कार्यालय लालगढ सार्न माग, निशुल्क घर दिने घोषणा
657
Shares

धनुषा— धनुषाको ढल्केवरस्थित भूमि प्रशासन (साविक मालपोत) कार्यालय मिथिला नगरपालिका वडा नं १० लालगढमा स्थान्तरण गरिए निशुल्क घर उपलब्ध गराउने त्यहाँकी स्थानीय डुकु कोइरालाले घोषणा गरेकी छिन् । बिहिबार सञ्चार ब्यूरोसँग टेलिफोन सम्पर्क गरेर कोइरालाले भूमि प्रशासन (साविक मालपोत) कार्यालयको लागि लालगढमा निशुल्क घर उपलब्ध गराउने बताएकी हुन् ।

ढल्केवरस्थित भूमि प्रशासन कार्यालयलाई बजार क्षेत्रबाट बाहिर अन्य वडामा सार्ने तयारी गरेको समाचार बाहिरिएपछि कोइरालाले पछिल्लो समय व्यापारिक हब बन्दै गएको लालगढमा भूमि प्रशासन कार्यालय स्थान्तरण गरिनुपर्ने माग गरेकी हुन् । ‘लालगढ पनि मिथिला नगरपालिकामै अवस्थित छ भन्ने सबैलाई हेक्का होस् । त्यसका लागि व्यक्तिगत रुपमा घर म निशुल्क उपलब्ध गराउँछु,’ कोइरालाले भनिन् ।

हाल ढल्केवरमा सञ्चालन भइरहेको भूमि प्रशासन कार्यालयलाई बजार क्षेत्रबाट बाहिर सार्न खोजेपछि उत्पन्न विवाद अदालत समेत पुगेको छ । भूमि प्रशासन कार्यालय ढल्केवरलाई विपक्षी बनाएर ढल्केवरका स्थानीय राम अवतार महतो कोइरीले उच्च अदालतमा दायर गरेको रिटमा बिहिबार कारण देखाउ आदेश जारी भएको हो ।

बिहिबार उच्च अदालतका न्यायाधीश कैलाशप्रसाद सुवेदीले मुद्दाका प्रतिवादी भूमि प्रशासन कार्यालय ढल्केवरको नाउमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने निर्णय सुनाएको हो ।

ढल्केवरस्थित भूमि प्रशासन कार्यालयलाई बजार क्षेत्रबाट बाहिर सार्ने खोजेपछि ढल्केवर वरपरका स्थानीयसहित व्यवसायीहरु आन्दोलित बनेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ असोज १४ गतेको निर्णयअनुसार धनुषाको ढल्केवरमा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय भएको थियो । स्थानीय युवाहरूको लामो संघर्षपछि २०८० मंसिरमा कार्यालय स्थापना भएको थियो भने २०८१ जेठ १८ गतेदेखि विधिवत रूपमा सेवा सञ्चालनमा आएको थियो । मिथिला नगरपालिकाको सदरमुकाम मानिएको ढल्केवर सबैलाई पायक पर्ने केन्द्रको रुपमा स्थापित छ ।

कार्यालय रहेको भवनको दुईवर्षे भाडा सम्झौता अवधि २०८२ मंसिरमा सकिएपछि नयाँ भवन छनोटका लागि सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार साविककै घरधनीसहित बजार क्षेत्रभित्रका अन्य व्यक्तिहरूले पनि शिलबन्दी दरभाउ पेश गरेका थिए । तर कार्यालय प्रमुख रोहित विश्वकर्माले ढल्केवर बजार क्षेत्रका भवनहरुलाई विभिन्न बहानामा अनुपयुक्त ठहर गर्दै कार्यालयलाई साविक नकटाझिज गाविस क्षेत्रतर्फ सार्न खोजेको मिथिला नगरपालिका वडा नं ६ का वडाध्यक्ष नन्दकिशोर यादवले बताए ।

मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा बटेश्वर गाउँपालिकालाई कार्यक्षेत्र बनाएको उक्त कार्यालय यातायात पहुँच र सेवाग्राहीको सहजताका दृष्टिले पनि बजार क्षेत्रभित्रै रहनुपर्ने वडाध्यक्ष यादवको जिकिर छ ।

भूमि प्रशासन कार्यालय ढल्केवरका प्रमुख रोहित विश्वकर्माले बिहिबार कार्यालय स्थान्तरणको सूचना जारी गर्दै जेठ २१ गते बिहिबार र २२ गते शुक्रबार दुईदिन सेवा अवरुद्ध हुने बताएपछि ढल्केवरको अवस्था तनावग्रस्त बनेको छ । कार्यालय ढल्केवर चोकभन्दा एक किलोमिटर पूर्व साविकको नकटाझिज गाविसमा स्थान्तरण गर्न खोजिएको हो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर