काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा मोरङका एक शिक्षकविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगले मोरङको ग्रामथान गाउँपालिका–५ स्थित श्री आदर्श निकेतन आधारभूत विद्यालयका निम्न माध्यमिक तह (गणित) राहत शिक्षक सुरेन्द्रकुमार विश्वास थारूविरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो।



आयोगका प्रवक्ता सुरेश न्यौपानेले विश्वासले विसं २०६३ असार १५ गतेदेखि उक्त विद्यालयमा नियुक्ति पाउनका लागि भारतको ‘बिहार स्कुल एक्जामिनेसन बोर्ड’ बाट जारी भएको भनिएको आईएस्सी तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानका क्रममा पाइएको बताए ।
नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको ओहदा प्राप्त गरेको पुष्टि हुन आएकाले विश्वासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सजायको मागदाबी लिई आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।










