ढल्केवर— धनुषामा सवारी दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरका पूर्णबहादुर विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । उनी स्थानीय श्री राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापनरत थिए ।
सोमवार राति करिब ९ बजेको समयमा जनकपुरबाट ढल्केवरतर्फ आउने क्रममा उनले आफैले चलाएको मधेस प्रदेश ०२ ००७प ५०२० नम्बरको स्कुटी जनकपुर–ढल्केवर खण्डअन्तर्गत मिथिला नगरपालिका–२ स्थित नक्टाझिजमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भिर घाईते भएका विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
विश्वकर्मा सवार स्कुटीलाई ठक्कर दिएको हुनसक्ने आशंकामा बा. १८ च. ८७६८ नम्बरको स्करपियोलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक साहले बताए । ‘स्करपियो र स्कुटी एउटै दिशामा गुडेको थियो । स्करपियोलाई अनुसन्धानका लागि त्यसका चालकसहित नियन्त्रणमा लिएका छौं । दुर्घटनास्थलका प्रत्यक्षदर्शीहरुलाई पनि बोलाउँदैछौं । प्रत्यक्षदर्शीहरुको बयानले केही भन्न सकिन्छ,’ प्रहरी निरीक्षक साहले भने ।
यता, शिक्षक विश्वकर्माको मृत्युको शोकमा मिथिला नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा शोक विदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखाले एक सुचना जारी गर्दै शिक्षक विश्वकर्माको मृत्युको शोकमा नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय मंगलवार एक दिन बन्द रहने जनाएको छ ।










