विशेष रिपोर्ट

१२ वर्षअघिको त्यो पीडा नभुल्दै फेरि भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु

छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको ईभी बिहीबार बिहान करिब ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनाग्रस्त भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको उक्त गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो ।
[sharethis-inline-buttons]
१२ वर्षअघिको त्यो पीडा नभुल्दै फेरि भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु
✦ News Summary Generated by Sanchar Bureau AI. Editorially reviewed.
मकवानपुरको भीमफेदीमा भएको ईभी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ।
छठ पर्व मनाउन काठमाडौँबाट घर फर्किंदै गरेका उनीहरूको मृत्यु भएपछि गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलो बलेको छैन।
दुर्घटनामा एकै परिवारका छ जनाको मृत्यु भएको छ भने दुई बालकले आमाबुबा गुमाएका छन्।
पीडित परिवारले न्याय र उचित राहतको माग गर्दै स्पष्ट व्यवस्था नभएसम्म शव नबुझ्ने बताएका छन्।
657
Shares

सर्लाही— मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको प्रतीक्षामा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलो बलेको छैन ।

छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको ईभी बिहीबार बिहान करिब ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनाग्रस्त भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको उक्त गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो ।

दुर्घटनाको खबर पाएदेखि नै मृतकका परिवार शोकमा छन् । छठ मनाउन घर फर्कने तयारीमा रहेका आफन्तको मृत्यु भएपछि सुन्दरपुर गाउँको उत्साह एकाएक शोकमा परिणत भएको छ । छठघाट निर्माण, गाउँघर सरसफाइ र पाहुनालाई निम्तो दिने चटारोमा रहेको गाउँ अहिले सुनसान बनेको छ ।

दुर्घटनामा छोरा र बुहारी गुमाएका प्रमोद यादवका अनुसार बुधबार साँझ छोरा गुड्डु यादवले गाउँका साथीभाइसँगै परिवार भोलिपल्ट छठ मनाउन घर आउन लागेको जानकारी दिएका थिए । तर, भोलिपल्ट बिहानै दुर्घटनाको खबरले परिवारमा बज्रपात परेको उनले बताए ।

गुड्डु र उनकी श्रीमती गायत्री देवीका दुई छोरा सक्षम र सुजन पनि सोही गाडीमा सवार थिए । दुर्घटनामा पाँच वर्षीय सक्षम बाँच्न सफल भएका छन् । दुर्घटनाका क्रममा बुबाले आफूलाई गाडीबाट बाहिर फालेको र त्यसपछि अरू कसैले सडकमा ल्याएकोसम्म सम्झना रहेको सक्षमले बताए । शरीरमा चोटपटक लिएर घर फर्किएका उनलाई दुर्घटनामा आमाबुबाको मृत्यु भएको जानकारी छैन । अर्का छोरा सुजनको टाउको र मुखमा चोट लागेकाले काठमाडौँमा उपचार भइरहेको छ ।

भक्तपुरको इमाडोल आसपासमा ठेलामा तरकारी बेचेर गुड्डु र गायत्रीले दुई छोराको पालनपोषण गर्दै आएका थिए । दुर्घटनामा आमाबुबा गुमाएपछि दुवै बालक अभिभावकविहीन भएका छन् ।

दुर्घटनामा चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुरका एकै परिवारका छ जनाको मृत्यु भएको छ । अवधेश यादवकी श्रीमती ३५ वर्षीया पुनम यादव, छोरीहरू १० वर्षीया अनुकुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिका तथा भाइहरू निकेश र सुधेश यादवको मृत्यु भएको हो । उनीहरूका १४ महिनाका छोरा सुदीपको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, निरशु यादवका छोरा ४० वर्षीय राकेश राय र नाति १८ वर्षीय रोहन रायको पनि दुर्घटनामा मृत्यु भएको छ । सोही गाउँका अमिरी रायका छोरा २५ वर्षीय रामप्रवेश यादव, चन्देश्वर रायका छोरा २५ वर्षीय सुवोध राय र निरश रायका छोरा २५ वर्षीय रामदुलार रायको पनि ज्यान गएको छ । दुर्घटनामा सवारी चालक सर्लाहीको कविलासीका ३० वर्षीय रविशङ्करकुमार मण्डलको समेत मृत्यु भएको छ ।

एकै परिवारका छ जनाको मृत्यु भएपछि आफन्त निर्मलाको अवस्था सम्हालिनसक्नु भएको छ । उनी पटकपटक अचेत हुने गरेको र छिमेकीले सबैको उपचार भइरहेको भन्दै सम्झाउने प्रयास गरिरहेको स्थानीय विपुलकुमारले बताए ।

दुर्घटनाले गाउँलेलाई १२ वर्षअघिको अर्को दुःखद् घटनाको पनि स्मरण गराएको छ । विसं २०७१ कात्तिक १८ गते मकवानपुरको चुरियामाईमा इँटा बोकेको ट्रक दुर्घटना हुँदा सर्लाहीको तत्कालीन औरही गाविसका सात जनाको मृत्यु भएको थियो । ट्रकभित्र लुकेर बसेका उनीहरू ट्रक पल्टिँदा इँटाले थिचिएका थिए । उक्त घटनामा सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी, विशेष यादव, जङ्गीलाल महतो र नवलपुरका राजकुमार माझीको मृत्यु भएको थियो ।

स्थानीयवासीले दुर्घटनाका दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेका छन् । घटनालगत्तै चक्रघट्ट गाउँपालिकाका अध्यक्ष कृष्ण यादवसहितको टोली मकवानपुर पुगेको थियो । उनले मृतकका परिवारलाई न्याय दिलाउन पहल भइरहेको बताए ।

अध्यक्ष यादवका अनुसार शव परीक्षणपछि मृतकका शव गाउँ ल्याइनेछन् । दुर्घटनामा गाउँका १३ जनाको मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक घोषणा गरेको छ । साथै, मृतकको दाहसंस्कारका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए ।

यता, पीडित परिवारले राहतलगायतका विषयमा स्पष्ट व्यवस्था नभएसम्म शव नबुझ्ने बताएका छन् । शव परीक्षणपछि आफन्तका शव गाउँ ल्याउने प्रतीक्षामा रहेका परिवारले न्याय र उचित राहतको माग गरेका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर