ढल्केवर— सरकारी सेवामा रहेर राज्यका विभिन्न निकायमार्फत राष्ट्र र नागरिकको सेवामा योगदान पु¥याउँदै आएका धनुषाको बटेश्वर गाउँपालिकाका १२७ जनाभन्दा बढी कर्मचारी सम्मानित भएका छन् । बटेश्वर गाउँपालिकामा स्थायी घर भई संघ, प्रदेश तथा स्थानीय तहअन्तर्गतका विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीलाई मंगलबार बटेश्वर नागरिक समाजले ‘बटेश्वर रत्न–२०८३’ अवार्डबाट सम्मान गरेको हो ।
समारोहमा प्रतिनिधिसभा सदस्य राजकिशोर महतो, बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोसहितकाले कर्मचारीहरुलाई अवार्ड प्रदान गरेका थिए । आफ्नो जन्मभूमि बटेश्वरमा स्थायी घर भई सरकारी सेवाका विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीको योगदानको कदर गर्दै नागरिक समाजले सम्मान कार्यक्रम आयोजना गरेको बटेश्वर नागरिक समाजका संयोजक डा. सुनिल कुमार सिंहले बताए । उनका अनुसार सरकारी सेवामा आबद्ध व्यक्तिहरूको व्यक्तिगत तथा व्यावसायिक उपलब्धिलाई स्थानीय समाजसँग जोड्दै उनीहरूको योगदानको संस्थागत पहिचान स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।



सरकारी सेवा जागिर अथवा व्यक्तिगत वृत्तिविकासको माध्यम मात्र नभई नागरिकप्रतिको जिम्मेवारी र सार्वजनिक उत्तरदायित्वसमेत भएकाले यस क्षेत्रमा कार्यरत व्यक्तिहरूको योगदानलाई समाजले सदैव सम्मान गर्नुपर्ने बटेश्वरका स्थानीयसमेत रहेका नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो बताउँछन् । जन्मभूमिबाट प्राप्त हुने सम्मानले कर्मचारीलाई आफ्नो सामाजिक दायित्वप्रति थप सचेत र जिम्मेवार बनाउने अपेक्षा लिएको उनको भनाइ छ ।
सम्मानित भएका कर्मचारीहरूले पनि आफ्नो गाउँठाउँबाट प्राप्त सम्मानलाई विशेष उपलब्धिका रूपमा लिएका छन् । कार्यक्षेत्रमा प्राप्त हुने पुरस्कार र प्रशंसाभन्दा जन्मभूमि तथा आफ्नै समाजबाट प्राप्त हुने सम्मानको छुट्टै महत्त्व हुने उनीहरुको धारणा छ ।
सम्मानित कर्मचारीमध्येका लालबाबु साह भन्छन्, ‘आफू जन्मिएको र हुर्किएको ठाउँबाट प्राप्त हुने सम्मानले कामप्रतिको जिम्मेवारी थप बढाउँछ । सरकारी सेवामा रहँदा आफूले निर्वाह गर्ने भूमिका र व्यवहारले आफ्नो व्यक्तिगत पहिचानसँगै जन्मभूमिको प्रतिष्ठासमेत जोडिने भएकाले इमानदारीपूर्वक सेवा गर्नु आवश्यक छ ।’ उनले यस्ता कार्यक्रमले सरकारी सेवामा प्रवेश गर्न चाहने नयाँ पुस्तालाई समेत सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गरे ।
स्थानीयस्तरमा जन्मिएर विभिन्न सरकारी निकायको जिम्मेवारीसम्म पुगेका व्यक्तिहरूको उपलब्धिलाई सार्वजनिक रूपमा चिनाउने प्रयासले बटेश्वरको सामाजिक पहिचान विस्तार गर्नसमेत सहयोग पुग्ने ब्लड फर नेपालका संस्थापक सरोज कुमार महतोले बताए । यस्ता कार्यक्रमले गाउँपालिकाभित्रका प्रतिभा, सम्भावना र अवसरलाई उजागर गर्नुका साथै नयाँ पुस्तामा सार्वजनिक सेवाप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको उनको भनाइ छ ।










