धनुषा— सांगीतिक रियालिटी शो ‘कास्की आइडल सिजन २’ मा युवा गायक रहमान खान फस्ट रनरअप (दोस्रो स्थान) बन्न सफल भएका छन् । सिरहाको मिर्चैयाका उनी प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै उपविजेताको उपाधि हासिल गरेका हुन् ।
आफ्नो सुमधुर स्वर, आत्मविश्वास र सांगीतिक प्रतिभामार्फत निर्णायक तथा दर्शकको मन जित्न सफल रहमानले प्रतियोगिताभरि नै प्रभावशाली प्रस्तुति दिएका थिए । उनको निरन्तर मेहनत, लगनशीलता र संगीतप्रतिको समर्पणले उनलाई प्रतियोगिताको अन्तिम चरणसम्म पुर्याएको हो ।



प्रतियोगितामा पहिलो स्थान हासिल गर्न नसके पनि फस्ट रनरअपको उपाधि जित्नु आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण उपलब्धि भएको छ । यस सफलतासँगै रहमानले आफ्नो प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउने अवसरसमेत प्राप्त गरेका छन् ।
रहमानको यस उपलब्धिले मिथिला क्षेत्रसँगै समग्र मधेश प्रदेशको सांगीतिक पहिचानलाई थप उचाइ दिएको छ । उनको सफलताप्रति स्थानीयवासी, शुभचिन्तक तथा संगीतप्रेमीहरूले खुसी व्यक्त गर्दै आगामी सांगीतिक यात्राको सफलताका लागि शुभकामना दिएका छन् ।
सांगीतिक क्षेत्रमा निरन्तर अघि बढ्ने लक्ष्य लिएका रहमानका लागि ‘कास्की आइडल सिजन २’ को फस्ट रनरअप उपाधि आगामी यात्राको महत्वपूर्ण खुड्किलो बनेको छ ।










