त्रिशूली (नुवाकोट)— भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पुर्याएपछि नुवाकोट र रसुवा जिल्लालाई जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडानको कार्य द्रुत गतिमा सुरु गरिएको छ ।
पुल निर्माणका लागि आवश्यक पर्ने प्राविधिक सामग्रीहरू कार्यस्थलमा ल्याउने क्रम जारी रहेको छ भने यही बुधबारदेखि पुल जडानको प्रत्यक्ष काम सुरु गरी आगामी दसैँअघि नै यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।



नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्रीहरू सेनाको मौज्दात रहेको धादिङको बैरेनी र बारा जिल्लाबाट ढुवानी भइरहेको छ ।
ती सबै आवश्यक सामग्रीहरू आजसम्ममा वेत्रावती पुर्याइसकिनेछ। सामग्री आइपुगेलगत्तै बुधबारदेखि नेपाली सेनाको ५५ जनाको विशेष प्राविधिक टोलीले बेलिब्रिज जडानको काम तीव्र रूपमा अघि बढाउने सैनिक स्रोतले उल्लेख गरेको छ ।
सामान्य अवस्थामा यस्तो बेलिब्रिज जडान गर्न तीन दिनको समय लाग्ने भए तापनि यहाँ पुरानो ‘जिप’ (पुलको मुख्य आधारभूत संरचना) होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाउनुपरेको छ ।
थप गरिएको उक्त कंक्रिट संरचना पूर्ण रूपमा सुक्न र परिपक्व हुन केही अतिरिक्त समय लाग्ने भएकाले दसैँको फूलपातीसम्ममा पुलबाट सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको सेनानी चौलागाईंले प्रस्ट पारे ।
यसअघि वेत्रावतीमा रहेको पक्की पुलको ‘जिप’ भोटेकोशीको बाढीसँगै आएको मलबे बहावले पुरेको थियो ।
सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो जगको संरचनामा थप दुई-दुई मिटर उचाइ उठाइएको हो। निर्माण गर्न लागिएको यो नयाँ एक्रोब्रिज ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ भने यसको कुल भारवहन क्षमता ६० टन रहने प्राविधिक विवरणमा खुलाइएको छ।
वेत्रावती क्षेत्रसम्म सडक पहुँच जोडिएपछि पुल निर्माणका लागि आवश्यक भारी सामग्री ढुवानी गर्न तथा निर्माण कार्यलाई अघि बढाउन ठूलो सहजता मिलेको छ । गल्छी-रसुवागढी सडक योजनाको कार्यालयले अवरुद्ध सडक खुलाएपछि निर्माण कार्यले थप गति लिएको हो ।
सडक पहुँच पूर्ण रूपमा पुग्नुअघि नै नेपाली सेनाको टोली वैकल्पिक मार्ग हुँदै सो स्थानमा पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन (रेक्की) गर्ने तथा ‘जिप’को उचाइ बढाउने काम सम्पन्न गरिसकेको सडक आयोजनाले पुष्टि गरेको छ ।
भोटेकोशी बाढीका कारण नराम्ररी क्षतिग्रस्त बनेको आगिटार-वेत्रावती सडक खण्ड यही शनिबारदेखि नै पुनः सञ्चालनमा आइसकेको छ । दशैंअघि नै वेत्रावतीमा यो बेलिब्रिज निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिएमा नुवाकोटबाट रसुवाको सदरमुकाम धुञ्चेसम्म सडकमार्फत आवतजावत गर्न निकै सहज हुने अपेक्षा गरिएको छ ।
यसले बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेको नुवाकोट-रसुवा सडक सम्पर्कलाई पुनःस्थापित गर्नेछ । बाढीपछि रसुवासँगको सडक सञ्जाल विच्छेद हुँदा त्यहाँको दैनिक जनजीवन र आपूर्ति व्यवस्था नराम्ररी प्रभावित हुँदै आइरहेको छ ।









