काठमाडौँ— चलचित्र ‘सिन्दूर’मा कलाकारका रूपमा विपिन कार्की र निरुता सिंह भित्रिएका छन् ।
हाल छायांकनको क्रममा रहेको यस चलचित्रमा यी दुवै कलाकार मुख्य भूमिकामा देखिन लागेका हुन् । चलचित्रको निर्देशन लक्ष्मण सुनारले गरिरहेका छन् ।



निर्देशक सुनारका अनुसार अभिनेत्री निरुताले केही दिनमै चलचित्रको छायाङ्कन सुरु गर्नेछिन् भने विपिनले दसैँपछि सुटिङ सुरु गर्नेछन् । यद्यपि उनीहरूको भूमिकाबारे भने हालसम्म केही खुलाइएको छैन ।
कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको यस चलचित्रको छायाङ्कन अहिले पश्चिम नेपालको दाङ जिल्लामा भइरहेको छ । सञ्जीव सार्कीको लगानीमा बन्ने यस चलचित्रका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् ।
यसअघि अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझीबाट चलचित्रको छायाङ्कन सुरु गरिएको थियो । सङ्कल्प भुजेलको छायाङ्कन रहेको यस चलचित्रमा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको सङ्गीत छ ।
प्रकाश हमाल निर्माण प्रमुख रहेको यस चलचित्रमा करणबहादुर साउदको मुख्य सहायक निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन र एनबी महर्जनको द्वन्द्व निर्देशन छ । मदन सुरखेतीको सह-लेखन रहेको यस चलचित्रको प्रदर्शन मिति भने अझै तय गरिएको छैन । चलचित्रले सामाजिक कथावस्तु र एक महिलाका लागि सिन्दूरको महत्त्व कति हुन्छ भन्ने विषयलाई देखाउने बताइएको छ ।









