धनुषा— धनुषामा ग्रावेल अनलोड गर्ने क्रममा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु भएको छ ।
मिथिला नगरपालिका–३ लालभित्तीस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगमा बिहीबार बिहान भएको दुर्घटनामा स्थानीय ३६ वर्षीय हरि महतोको मृत्यु भएको हो ।



इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक उदय शम्शेर जबराका अनुसार प्रदेश २–०२–००१ख ०१७१ नम्बरको टिपरबाट क्रसर उद्योगमा ग्रावेल अनलोड गर्ने क्रममा टिपर अनियन्त्रित भएर पल्टिएको थियो । टिपर पल्टिँदा त्यसमा परेका महतोलाई जेसिबीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा टिपर चालकसमेत गम्भीर घाइते भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको र उपचार भइरहेको प्रहरी निरीक्षक जबराले जानकारी दिए ।









