जनकपुरधाम— महोत्तरीको भंगहा नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि नगरप्रमुख संजिवकुमार साहले सोमबार नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
नगर प्रमुख साहले यसअघि प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र हाजिर नभए अतिआवश्यक सेवाबाहेक सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी दिएका थिए । सो अल्टिमेटम सकिएपछि मेयर साह आफैंले नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।



भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले भदौ १ गतेको पत्रमार्फत खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । तर, मन्त्रालयको पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल नगरपालिकामा हाजिर नभएको मेयर साहको गुनासो छ ।
मेयर साहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफू पटक-पटक मन्त्रालय धाएर जानकारी गराए पनि समस्या समाधान हुन सकेन । मन्त्रीलाई भेटेर समस्या राख्न खोज्दा भेट नदिइएको र स्वकीय सचिवलाई भेट्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
मेयर साहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफू पटक-पटक मन्त्रालय धाएर जानकारी गराए पनि समस्या समाधान हुन सकेन । मन्त्रीलाई भेटेर समस्या राख्न खोज्दा भेट नदिइएको र स्वकीय सचिवलाई भेट्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको प्रशासनिक तथा वित्तीय काम प्रभावित भएको साहले बताए । कर्मचारी तथा पदाधिकारीलाई तलब-भत्ता उपलब्ध गराउन, विकास योजनाहरू सञ्चालन गर्न तथा दैनिक सेवा प्रवाहमा समेत समस्या भएको उनको भनाइ छ । विशेष गरी दसैँ नजिकिँदै गर्दा कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था सिर्जना भएको उनको गुनासो छ ।
तालाबन्दी गरेपछि मेयर साहले त्यसको चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन् । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत तत्काल हाजिर गराई नियमित प्रशासनिक, वित्तीय तथा सेवा प्रवाह सुचारु गर्न सम्बन्धित मन्त्रालयसँग माग गरेको छ ।









