महोत्तरी— पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी पंचलाल गोलेको कमान्डमा खटिएको टोलीले कोइरीलाई बिहीबार साँझ गौशाला नगरपालिका– ५ स्थित एमाले पार्टी कार्यालयअगाडिबाट पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी असइ थमन विक हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीको सफाइ दिने फैसला आंशिक उल्ट्याउँदै उच्च अदालत जनकपुरले बुधबार कोइरीलाई पाँच वर्ष सजाय सुनाएको थियो । उच्चको फैसला कार्यान्वयन गर्न प्रहरीले कोइरीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी गोलेले गौशाला– २, निगौल घर भएका कोइरीलाई पक्राउ गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
उच्च अदालतले जिल्लाबाट जन्मकैद सजायको फैसला भएकामध्ये पूर्वप्रदेश राज्यमन्त्री अभिराम शर्मा, जलेश्वर अस्पतालका पूर्वअध्यक्षहरू धर्मेन्द्र राय र सुरेश पाण्डे, पूर्वनगरप्रमुख रामशंकर मिश्र र पवन कापरको हकमा फैसला उल्टी गर्दै पाँच वर्ष जेल सजाय तोकेको छ ।
सोही मुद्दामा जन्मकैदको सजाय पाएका प्रदीप माझी, संजयकुमार साह र मोहन ठाकुरको हकमा भने जिल्लाकै फैसला सदर भएको छ ।









