सिरहा— पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको बहुचर्चित पुल निरीक्षणका लागि पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
शनिबार साँझ पुलस्थल पुगेर निर्माणको अवस्थाबारे निरीक्षण गरेका मन्त्री लम्सालले काम छिटो सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए। तर पुल निर्माण कहिले पूरा हुन्छ, पुरानै संरचनालाई निरन्तरता दिइन्छ वा नयाँ योजना ल्याइन्छ भन्ने विषयमा स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै स्थानीय युवाले विरोध जनाएका हुन्।
स्थानीयका अनुसार पुल निर्माणको भविष्यबारे प्रश्न गर्दा मन्त्रीबाट ठोस जवाफ नआएपछि केही युवाले नाराबाजी गरेका थिए। मन्त्रीको टोली फर्किने क्रममा ‘फोटो खिचाउन मात्र होइन, जवाफ पनि दिनुपर्छ’ र ‘मधेशलाई उपेक्षा गर्न पाइँदैन’ लगायतका नारा लगाइएको थियो।
करिब १५ वर्षदेखि अलपत्र रहेको कमला पुलको अवस्था बुझ्न यसअघि पनि विभिन्न प्रधानमन्त्री र मन्त्रीहरू पटक–पटक पुगेका भए पनि निर्माण कार्य अझै पूरा हुन सकेको छैन।
स्थानीयवासीले यसपटक पनि मन्त्रीबाट स्पष्ट कार्ययोजना नआएको भन्दै निराशा र असन्तुष्टि व्यक्त गरेका छन्।
हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवले मन्त्री लम्सालले ‘हामी बोल्न होइन, काम गर्न आएका हौं, काम गरेर देखाउँछौं’ भनेको बताए। तर पुल निर्माणको समयसीमा र योजनाबारे कुनै ठोस प्रतिबद्धता नआएपछि स्थानीय आक्रोशित बनेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले मन्त्रीको निरीक्षणपछि सामान्य नाराबाजी भएको स्वीकार गरे । तर सवारीमा कुनै अवरोध नभएको उल्लेख गर्दै उनले मन्त्रीको सवारी फर्किने क्रममा बाटो व्यवस्थापनका लागि प्रहरीले सामान्य सहजीकरण गरेको बताए ।









