चितवन— नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र कसैलाई पनि कुनै पनि आधारमा पक्षपात नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीमा परम्परागत गुटबन्दीको अन्त्य गर्दै १५औँ महाधिवेशनमा एकढिक्का भएर जाने बताएका हुन्।
महामन्त्री घिमिरेले पार्टीभित्र रहेका मतभेदहरूलाई सम्बोधन गर्दै सबैलाई समेट्न नेतृत्व तयार रहेको स्पष्ट पारे। पार्टीमा अवसर र भूमिका दिने विषयमा उदारता अपनाइने भन्दै उनले सबै नेता–कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्न आफूहरू सचेत रहेको जानकारी दिए।
घिमिरेले भने, ‘पार्टीभित्र मतभेद देखिन्छन्, त्यसलाई सम्बोधन गर्दै सबैलाई समेट्ने कुरामा हामी तयार छौँ । पार्टीमा अवसर, भूमिका दिने र समेट्न उदारतापूर्वक सबैको राजनीतिक भविष्यलाई सुनिश्चित राख्न हामी सचेत छौँ ।’
हालै केन्द्रीय समितिमा गरिएको मनोनयनको निर्णयले पनि सबैलाई मिलाएर लैजाने नेतृत्वको मनसाय पुष्टि गरेको उनको दाबी छ। पार्टीमा विगतमा देखिने गरेको ‘६०–४०’ को भागबन्डा र अस्वस्थ गुटबन्दीका लागि अब कुनै गुञ्जायस नरहेको उनले बताए।
कांग्रेस सबैको साझा थलो हो भन्ने कुरा स्थापित गरेरै अगाडि बढ्ने उनको भनाइ छ। महामन्त्री घिमिरेले अहिले सिङ्गो पार्टी १५औँ महाधिवेशनको तयारीमा केन्द्रित रहेको समेत जानकारी दिए।









