धनुषा— मगही भाषा, सलहेस परम्परा तथा स्थानीय संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले बटेश्वर गाउँपालिकामा ‘मगही सलहेस तथा संस्कृति साहित्य मेला २०८३’ आयोजना हुने भएको छ ।

प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गतेमात्र फुल्ने फूल दर्शन गर्न सलहेस मेलाको अवसरमा विभिन्न समसामयिक तथा सामाजिक सरोकारका विषयमा प्यानल डिस्कसन (छलफल) गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा भाषा–संस्कृति, शिक्षा, कृषि, स्वास्थ्य तथा सामाजिक सञ्जालको प्रभाव जस्ता विषयमा केन्द्रित रहेर छुट्टाछुट्टै सत्र सञ्चालन गरिने बताइएको छ । “मगही भाषा तथा सांस्कृतिक अवस्था”, “शिक्षा र कृषि”, “रोग तथा उपचार”, “दैनिक जीवन र स्वास्थ्य” तथा “सामाजिक सञ्जाल र समाज” जस्ता विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, समाजसेवी, चिकित्सक, पत्रकार तथा साहित्यकारहरू प्यानलिस्टका रूपमा सहभागी हुने बताइएको छ ।

प्यानलिस्टका रूपमा चन्द्रेश्वर सदाय, चन्द्रेश्वर पासवान, अमित झा, आलोक बाबा, डा. वीरबहादुर महतो, मिहिलाल यादव, रामसकल महतो, गणेश साह, डा. राम ज्ञान यादव, डा. कृष्ण यादव, देवनारायण मण्डल, श्याम यादव, सरोज यादव, जयनाथ अधिकारी, सरोज मण्डल, लक्ष्मी महतो लगायतका व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

कार्यक्रमका विभिन्न सत्रहरूमा सहजकर्ताको भूमिकामा सुमित ठाकुर, शैलेन्द्र क्रान्ति, विजय कुमार दास, राजीव कुशवाहा र पुजा साह लगायतले सहजीकरण गर्नेछन् ।

आयोजकले मेलामार्फत मगही भाषा र संस्कृतिको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाबारे व्यापक छलफल भई संरक्षणका लागि ठोस पहल हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय