Summary
सिंहदरबारस्थित संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महोत्तरी—१ बाट निर्वाचित प्रमोदकुमार महतो, धनुषा—४ बाट निर्वाचित रास्वपाकै राजकिशोर महतो र नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक सांसद् जोग कुमार यादव(श्रवण बरबरिया)ले मगही भाषामा शपथ ग्रहण गरेको संघीय संसद सचिवालयले जनाएको छ ।
धनुषा— नेपालको संसदीय इतिहासमा पहिलो पटक मगही भाषामा शपथ लिने नयाँ रेकर्ड कायम भएको छ । बिहीबार प्रतिनिधिसभाका तीन सांसदले आफ्नो मातृभाषा मगहीमा शपथ ग्रहण गर्दै संसदमा भाषिक विविधताको नयाँ आयाम थपेका छन् ।
सिंहदरबारस्थित संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महोत्तरी—१ बाट निर्वाचित प्रमोदकुमार महतो, धनुषा—४ बाट निर्वाचित रास्वपाकै राजकिशोर महतो र नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक सांसद् जोग कुमार यादव(श्रवण बरबरिया)ले मगही भाषामा शपथ ग्रहण गरेको संघीय संसद सचिवालयले जनाएको छ ।
ती सांसदहरूले संविधानले सुनिश्चित गरेको मातृभाषामा शपथ लिने अधिकार प्रयोग गर्दै मगही भाषामा शपथ लिएको प्रतिक्रिया दिएका छन् । यसअघि प्रायः नेपाली भाषामै शपथ लिने परम्परा रहे पनि पछिल्लो समय विभिन्न भाषाको प्रयोग बढ्दै गएको छ ।
धनुषा—४ बाट निर्वाचित राजकिशोर महतोले आफूहरूको पहिचान र भाषिक अधिकारको सम्मानका लागि मगही भाषामा शपथ लिएको बताएका छन् । उनले संसदजस्तो उच्च निकायमा मातृभाषाको प्रयोगले समावेशिता र विविधताको सन्देश दिने विश्वास व्यक्त गरे ।
संविधानले प्रत्येक नागरिकलाई आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने अधिकार दिएको छ । सोही प्रावधानअनुसार सांसदहरूले आ–आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरिएको छ ।
संसदमा विभिन्न भाषाको प्रयोगले मुलुकको बहुभाषिक चरित्रलाई झल्काउने मात्र नभई समावेशी लोकतन्त्रलाई अझ सुदृढ बनाउने भाषाविद्हरू बताउँछन् ।
यसअघि मधेश प्रदेशमा तत्कालिन प्रदेश सभा सदस्य भरतप्रसाद साहले मगही भाषामा शपथ लिएको इतिहास छ ।