जनकपुरधाम— काठमाडौँबाट जनकपुरधाम आउँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा परेर भारतको बिहार राज्य पटना बस्ने ७५ वर्षीय बिजय प्रकाशको मृत्यु भएको हो । यस्तै दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् ।
शनिबार बिहान साढे ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका १९ जमुनिया स्थित लक्ष्मिनिया-जनकपुरधाम भित्री सडकखण्डमा काठमाडौँबाट जनकपुरधाम तर्फ आउदै गरेको बीआर ०१ एचडी २६८६ नम्बरको कार आफै अनियन्त्रीत भई नहरमा खसेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।
कार दुर्घटना गम्भीर घाइते भएका ७५ वर्षीय प्रकाशको प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् ।
यस्तै, उक्त दुर्घटनामा परेर कार चालक ६२ वर्षीय अजय प्रकाश र उनको श्रीमती रसमी प्रकाश घाइते भएका छन् । तराई मधेसका जिल्लामा शितलहर र हुस्सुको कारण दुर्घटनाको जोखिम बढेको हो ।
दुर्घटनामा परेको कारलाई नहरबाट निकाल्ने काम जारी रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










