ढल्केवर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुप्रतिभाशाली व्यक्तित्व विजय कुमार दास तत्मालाई आफ्नो समानुपातिक उम्मेदवार सूचीमा समेटेको छ । पार्टीले समावेशी र क्षमतावान व्यक्तिहरूलाई अगाडि बढाउने नीति अनुरूप दासलाई मधेश प्रदेशबाट दलिततर्फ सूचीमा राखिएको जनाएको छ ।
विभिन्न सामाजिक, बौद्धिक तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै आएका विजय दास बहुआयामिक प्रतिभाका रूपमा परिचित छन् । उनी युवामाझ लोकप्रिय हुनुका साथै सामाजिक रूपान्तरण र सकारात्मक सोच प्रवद्र्धनमा निरन्तर योगदान गर्दै आएका छन् ।
आफ्नो गायन कलामार्फत उनले भ्रष्टाचार, सामाजिक कुरिती, वेथिती, अनियमितताविरुद्ध लगायतको सवालमा निरन्तर आवाज उठाउँदै आएका छन् । सिरहाकी रिंकु सदायको शंकास्पद मृत्यु घटनाविरुद्ध उनले अभियानकै रुपमा आन्दोलन चर्काएका थिए ।
रास्वपाले पुराना राजनीतिक अभ्यासभन्दा फरक ढङ्गले नयाँ सोच, नयाँ नेतृत्व र योग्य व्यक्तित्वलाई अवसर दिने लक्ष्य लिएको बताउँदै आएको छ । सोही रणनीतिअन्तर्गत दासको चयनले पार्टीभित्र उत्साह थपिएको रास्वपा नेता राजकिशोर महतो बताउँछन् ।
समानुपातिक सूची सार्वजनिक भएसँगै पार्टी समर्थकहरू तथा शुभेच्छुकहरूले विजय दासको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् । आगामी निर्वाचनमा उनको भूमिकाले संसद्मा नयाँ ऊर्जा र बहस ल्याउने अपेक्षा गरिएको छ । सञ्चारर्कमीसमेत रहेका दासले पुस १२ र १३ गते हुने आन्तरिक प्रतिस्पर्धामा RSP एपमार्फत मतदान गरिदिन आग्रह समेत गरेका छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी अनलाइन सञ्चारमाध्यमसँग आवद्ध भएर पत्रकारिता गर्दै आएका थिए ।










