रौतहट— लोकपर्व छठको अवसरमा सरकारले दिँदै आएको एक दिने सार्वजनिक बिदामा पुनर्विचार गर्न मधेसी अधिकृत समाज नेपालले माग गरेको छ । समाजका अध्यक्ष भूदेव झाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गरेका छन् ।

चार दिनसम्म कठोर विधि र ३६ घण्टासम्म निर्जल व्रत बसेर मनाइने यो महापर्वका लागि एक दिनको बिदा पर्याप्त नभएको समाजको तर्क छ । सङ्घीय सरकारले मुख्य दिनमा मात्र बिदा दिने प्रचलन राखे पनि समाजले पर्वको सम्पूर्ण अवधिभर बिदा दिनुपर्ने माग गरेको छ ।

अध्यक्ष झाका अनुसार, चार दिन लामो यो पर्वमा एक दिनको मात्र बिदा दिँदा व्रतालु, विद्यार्थी र कर्मचारीलाई गम्भीर असुविधा भएको छ । यो पर्व धार्मिक आस्था, कठोर अनुशासन र सामाजिक एकताको प्रतीक भएकाले यसमा बिदा सीमित गर्नु धार्मिक आस्थामा अनादर जस्तै भएको समाजको भनाइ छ । यस निर्णयले सांस्कृतिक समावेशिताको मर्ममाथि प्रश्न उठेकोले बिदाको अवधि बढाउनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip