जनकपुरधाम— आगामी आर्थिक वर्षको बजेटलाई लिएर मधेस सभाको बैठकमा हंगामा सुरु भएको छ ।
विपक्षी दलहरूले बजेटमा प्रश्न उठाउन थालेपछि सदनको बैठक दोस्रो दिन पनि निर्णयविहीन बनेको छ । सोमबार दोस्रो दिन पनि सदनको बैठकमा विपक्षी दलहरूले प्रदेश सभाको बैठक सुरु नहुँदै विरोध प्रदर्शन गरेका थिए ।
विपक्षी दलहरूले विरोध गर्न थालेपछि सदनको बैठक आज पनि स्थगित भएको हो । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मण्डलले मंगलबार दिउँसो १ बजेसम्मका लागि सदनको बैठक स्थगित गरेका हुन् ।
बजेटमा बिचौलिया हाबी भएको भन्दै विपक्षी दलहरूले प्रदेश सभामा हंगामा सुरु गरेका हुन् । विपक्षी दल नेकपा माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराइका अनुसार मधेस सरकारको बजेटमा धेरै खेल भएको आराेप लगाए । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र सांसदहरूको कतिपय योजनाभन्दा फरक बजेट राखिएको उनको भनाइ छ ।
प्रदेश सरकारको बजेटमा बचौलिया हाबी भएको प्रस्ट देखिएकोले आफ्नो दलसहित विपक्षी दलहरूले विरोध जनाइरहेको उनको टिप्पणी छ । ‘यो बजेटमा व्यक्ति केन्द्रित बजेट छ, यतिमात्रै होइन बजेट असमान पनि छ । साथै बिचौलिया हाबी भएको छ,’ उनले भने ।
उनका अनुसार त्यसकारण यसको पुनर्लेखन हुनुपर्ने विपक्षी दलहरूको माग छ । पुनर्लेखन नहुँदासम्म आफूहरू सदनको बैठक चल्न नदिने तयारीमा रहेको उनको भनाइ छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटलाई लिएर आइतबारदेखि प्रदेश सभाको बैठक सुरु भएको छ । तर बजेट पासबारे सदनमा कुनै छलफल हुन सकेको छैन ।
आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि प्रदेश सरकारले बजेट ल्याएको २३ दिन भइसक्दा पनि प्रदेश सभाभित्रको किचलो बढ्दो छ । कांग्रेस सांसद श्याम पटेलका अनुसार बजेटमा संशोधन भएन भने बजेट पास नहुने सम्भावना बढ्दो छ ।
उनका अनुसार केही दलका नेताबाहेक अधिकांश सांसदमा बजेटको विषयलाई लिएर व्यापक असन्तुष्टि छ । उनले भने, ‘प्रदेश सभामा सत्तारुढ दलका सांसदहरूले पनि बजेटको विरोध जनाइरहेका छन्, सांसदहरूसंग छलफल हुँदै सबैको बजेट संशोधन गर्ने एक स्वर छ ।’ यदि यसो भने असार ३० भित्र बजेट पास हुन सक्ने सम्भावना निकै कम छ ।
त्यसकारण समयसीमाभित्रै बजेटबारे उठेका अवाजहरूको सम्बोधन गर्नुपर्ने जरुरी रहेको उनको ठम्याइ छ । असार १ गते प्रदेश सरकारले ४६ अर्ब बढीको बजेट ल्याएको थियो । त्यसको ११ दिन पछाडि सुरु भएको सदनको बैठकमा रातो किताब प्रदेश सांसदहरूले पाएका थिए ।
रातो किताबको अध्ययनपछि बजेटमा भनै गडबड भएको देखेका सत्तारुढ दलका सांसदसहित विपक्षी दलहरूले बजेट विरोध गर्न थालेका थिए । सदनमा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, राप्रपा, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रूपमा विरोध जनाइरहेका छन् । बजेट पासका लागि अब प्रदेश सभासँग मात्र ७ दिन बाँकी छ ।
बजेटबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक
बजेटको विषयलाई विवाद सुरु भएपछि प्रदेश मन्त्रिपरिषद्को बैठक डाकिएको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकबारे गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले भने, ‘बैठकमा बजेटमाथि भइरहेको विरोधबारे छलफल गरियो । तर गहन छलफल भने भएन, सत्तारुढ दलहरूसंग सल्लाह गरेर अगाडि बढ्ने सबैको सल्लाह भयो ।’
उनका अनुसार अब सदनमा भइरहेको विरोधबारे सत्तारुढ दलहरूसँग सल्लाह गरेर अगाडि बढ्ने सरकारको तयारी छ ।










