धनुषा— धनुषाको लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजगीर महतोको कौशलताले उदाहरणीय परिणाम देखा परेको छ । गत मंसिर २८ गते लक्ष्मीनियामा हाजिर भएयताको करिब पाँच महिनाको अवधिमा उनले दुईपटक गाउँसभा गराएका छन् ।
अघिल्लो बर्ष विवादले ६ महिनासम्म पारित हुन नसकेको आर्थिक वर्ष २०८१/८२ को बजेटलाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा महतो हाजिर भएलगत्तै सर्वसम्मत नगरसभा गराएर उक्त बजेट पारित गराएका थिए । यसवर्ष भने आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्नेमा लक्ष्मीनिया गाउँपालिका पहिलो पालिका बनेको छ ।



बुधवार गाउापालिकाको १३औँ गाउँसभामा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४७ करोड ७९ लाख ६४ हजार ६२५ रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
अध्यक्ष मिश्रले ‘शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारः लक्ष्मीनियाँ गाउँपालिकाको समृद्धिको आधार’ भन्ने मूल नारासहितको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै कुल बजेटको ४५ प्रतिशत रकम विनियोजन गरिएको छ ।
त्यसैगरी, आर्थिक र सामाजिक विकासका लागि समान २०–२० प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि १० प्रतिशत तथा वातावरण तथा विपद् व्यवस्थापनका लागि ५ प्रतिशत बजेट छुट्याइएको छ ।
आगामी वर्षका लागि गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वाकांक्षी कार्यक्रमहरू अघि सारेको छ ।
‘उत्कृष्ट शैक्षिक गन्तव्यः गाउँपालिकाको हाम्रो पहिचान’ को लक्ष्यसहित एक सामुदायिक विद्यालयलाई नमुनाको रूपमा विकास गर्ने र प्रत्येक माध्यमिक विद्यालयमा एक ‘नर्स’ को व्यवस्था गर्ने नीति लिइएको छ ।
स्वास्थ्यतर्फ, गर्भवती महिलाका लागि ‘ग्रामीण अल्ट्रासाउण्ड’ अभियान सञ्चालन गरिनेछ भने ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रममार्फत अध्यक्ष स्वयं स्वास्थ्यकर्मीसहित ज्येष्ठ नागरिकको घरदैलोमा पुग्ने कार्यक्रम तय गरिएको छ ।
बजेटको स्रोतका रूपमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ४ लाख, राजस्व बाँडफाँड ८ करोड ९२ लाख १९ हजार, सशर्त अनुदान १७ करोड १९ लाख, समपूरक अनुदान १ करोड ४७ लाख र विशेष अनुदान ३ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
यस्तै, प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ ४८ लाख ३५ हजार, वित्तीय समानीकरणतर्फ ६९ लाख ९ हजार, सशर्त अनुदानतर्फ ८ लाख, समपूरक अनुदानतर्फ २० लाख र विशेष अनुदानतर्फ ३० लाख प्राप्त हुनेछ ।
यस्तै गाउँपालिकाले आन्तरिक राजस्वबाट ४० लाख र गत वर्षको मौज्दातबाट ५० लाख आम्दानी हुने अनुमान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महतोले बताए ।










