ढल्केवर— अवैद्य नदी दोहनविरुद्धको अभियानमा लागेका धनुषाका दिलीप महतो(ओमप्रकास)को हत्या भएको आज ठ्याक्कै पाँच वर्ष पूरा भएको छ ।
२५ पुस २०७६ को झिसमिसे बिहानीमा धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीपलाई क्रसर डनले क्रुर हत्या गरेका थिए । क्रसर गुण्डाले दिलिपलाई कोखमा‘लिभर’प्रहार गरी सख्त घाइते बनाएर टिपरले किचेर हत्या गरेका थिए । चुरे दोहन रोक्नुपर्ने, अबैध उत्खनन् र क्रसर उद्योग बन्द गर्नुपर्ने उनको चोटिलो आवाज खोला तस्करको तारोमा परेर दिलिपको हत्या गरिएको थियो । सोही दिनको स्मरणमा आज दिलीपको पाँचौं स्मृति दिवस मनाइँदै छ ।
दिलिपको हत्या घटनाका मुख्य योजनाकार चुरियामाइ बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतो र हत्याका मतियार ठहर भएको रंजित भनिने जितेन्द्र कुमार महतो जेल जीवन बिताइरहेका छन् । उनीहरुलाई न्यायलयले दोषी ठहर गर्दै कारागार पठाएका हुन् ।
धनुषा जिल्ला अदालतले गत फागुन १२ गते घटनामा मुख्य योजनाकार चुरियामाइ बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन र कामदार मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति तिर्न फैसला सुनाइएको थियो । न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उक्त फैसला भएको थियो ।
त्यस्तै हत्याका मतियार ठहर भएको रंजित भनिने जितेन्द्र कुमार महतोलाई साढे १२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न फैसला जिल्ला अदालतले सुनाएको थियो । त्यही मुद्दामा क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई भने जिल्ला अदालतले सफाइ दिएका थिए ।
उक्त फैसलाविरुद्ध असन्तुष्टि जनाउँदै दिलिपका बुबा रामजीवनले गत बैशाख २५ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । सातैजना दोषी रहेको भन्दै रामजीवनले पुनरावेदन दिएका थिए । जिल्ला अदालतले दोषी ठहर गरेर कैद सजाय सुनाएका विपीन महतो, मुनिन्द्र महतो र रञ्जित भनिने जितेन्द्र कुमार महतोले पनि नेपाल सरकारलाई प्रतिवादी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
उच्च अदालत जनकपुरले भने गत माघ २४ गते दिलिप महतोको हत्या मुद्दासँग सम्बन्धित ती सबै मुद्दामा जिल्ला अदालतकै फैसला सदर गरिदियो । तर, दिलिपका परिवार अझै सन्तुष्ट छैनन् । सातैजना दोषी ठहर हुनुपर्ने भन्दै दिलिपका बुबा रामजीवनले उक्त मुद्दा लिएर सर्वोच्च पुगेका छन् ।
यता, दिलिपलाई प्रथम पर्यावरण शहिद घोषणाको माग भने ओझेलमा परेको छ । दिलीपलाई प्रथम पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग अझै जनस्तरबाट उठिरहेको छ । तर, उक्त मागलाई तीनै तहको सरकारले बेवास्ता गरेको दिलीपकी बहिनी लक्ष्मी गुनासो गर्छिन् । न्याय दिलाउने वाचा गरेका नेताहरूले पनि आफ्नो कर्तव्य निर्वाह नगरेको उनले दुखेसो पोखिन् ।
दिलिपको पाँच स्मृती दिवस काठमाडौंमा मनाइदैछ । दिलिपलाई प्रथम पर्यावरण सहिद घोषणाको माग गर्दै काठमाडौंको माइतीघरमा पाँचौं स्मृति दिवस मनाउन लागिएको ओम प्रकास महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानका सचिव फुलगेन मगहीले जानकारी दिए ।










