ढल्केवर— धनुषाको मिथिला नगरपालिकाको सबै वडाका नवनिर्वाचित दलित महिला सदस्यहरुलाई सम्मान गरिएको छ । संयुक्त दलित संजाल धनुषाले नवनिर्वाचित दलित सदस्यहरुलाई सम्मान गरेको हो ।

शनिवार ढल्केवरमा संजालका अध्यक्ष अमर बहादुर परियारको अध्यक्षता तथा मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित ११ जना दलित महिला सदस्यलाई सम्मान गरिएको संजालका सचिव मेघबहादुर सेन्चुरीले जानकारी दिए । ११ वटा वडा रहेको मिथिला नगरपालिकाको सबै वडाका निर्वाचित दलित महिला सदस्यलाई सम्मान गरिएको उनले जनाए । सचिव सेन्चुरीका अनुसार कार्यक्रममा उपमेयर बुढाथोकीलाई समेत सम्मान गरिएको थियो ।

संजालले सम्मान गर्दै उनीहरुको कार्यकाल सफलताका लागि शुभकामना समेत दिएका थिए । निर्वाचित दलित महिला सदस्यहरुले आफुहरु जुनसुकै पार्टीबाट प्रतिनिधित्व गरेपनि समग्र दलित समुदायको उत्थानका लागि सदैव अग्रसर रहने प्रतिबद्धता जनाए ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर बुढाथोकीले समग्र महिलालाई सबल र आत्मनिर्भर बनाउन आफुले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाइन् । उनले नगर भित्रका सबै महिला साक्षर हुनुपर्नेमा जोड दिदै औपचारिक शिक्षा प्राप्त नगरेका महिलाहरुलाई साक्षर बनाउन निशुल्क अभियान चलाउने निर्णय गरिसकेको जनाईन् ।

उपमेयर बुढाथोकीले हरेक वडाका एकजना गरिब, जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयको सिफारिसमा आफ्नो व्यक्तिगत तर्फबाट छात्रवृति दिने निर्णय पदभारग्रहण गरेलगत्तै गरेको पनि सुनाइन् ।

कार्यक्रममा बोल्दै संजालका सचिव सेन्चुरीले राजनीतिक दलहरुले दलित कोटामा गरेको बेइमानी विरुद्ध संजाल कानुनी उपचार खोज्ने चेतावनी दिए । ‘खुल्ला प्रतिस्पर्धामा दलित कोटा छुट्याइएको थियो । त्यसलाई अहिलेका राजनितिक दलहरुले गौन गरिदिएको छ । त्यसविरुद्ध यो दलित संजालले अब कानुनी उपचारका लागि अगाडी बढ्छ,’ सेन्चुरीले भने ।

सम्मान कार्यक्रममा संजालका उपाध्यक्ष काजीमान विश्वकर्मा, कोषाध्यक्ष सुनिता लोहनी विक, सहसचिव रामकुमार विश्वकर्मा लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip