ढल्केवर— धनुषाको मिथिला नगरपालिकामा नेकपा एमाले भित्रको विवाद उत्कर्षमा पुगेको छ । अन्तिम समयमा निवर्तमान मेयर हरिनारायण महतोको टिकट खोसिएपछि सुरु भएको विवाद चरम उत्कर्षमा पुगेको हो ।

आइतबार लालगढस्थित पुकार होटेलमा बसेको चुनाव परिचालन कमिटीको बैठकमा पुगेका एमालेका केन्द्रिय सचिव रघुवीर महासेठलाई हरिनारायण पक्षधर कार्यकर्ताहरुले हुलहुज्जत गरेका छन् । उनीहरुले बैठकमै महासेठ विरुद्ध चर्को नारावाजी गरेका थिए ।

बैठकमा महासेठले बोल्न सुरु गरेलगत्तै हरिनारायण पक्षधर कार्यकर्ताहरुले गालीगलौज गर्दै होहल्ला सुरु गरेपछि तनाव उत्पन्न भएको थियो । विवादमा हात हालाहालको अवस्था सृजना भएपछि बैठक स्थगित गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार महासेठलाई कालोमोसो दल्ने तयारी समेत भएको थियो । बैठक कक्षभित्रै हरिनारायण समर्थक कार्यकर्ताहरुले रघुवीर महासेठ मुर्दावाद, नेकपा एमाले जिन्दावादलगायतका नारा लगाएका थिए । तर एमालेका केन्द्रिय सदस्य समेत रहेका हरिनारायणले आफ्नो पक्षधरका कार्यकर्तालाई सम्झाईबुझाई संयमता अपनाएपछि अवस्था सामान्य बनेको थियो ।

यता हरिनारायणलाई नगर कमिटीले एकल सिफारिस गरेको निर्णयलाई पुरानै मितिमा राजाराम महतोको नाम राखेर उल्ट्याउन खोजेपछि विवाद भएको पार्टीको नगर कमिटी सदस्य कामेश्वर महतोले बताए । उनका अनुसार यसअघि एमालेको नगर कमिटी, प्रदेश क्षेत्रले नगरप्रमुख पदको उम्मेदवारका लागि हरिनारायणको एकल सिफारिस गरेको थियो । तर रघुविर महासेठले चलखेल गरेर मनोनयन दर्ताको अन्तिम दिन हरिनारायणलाई बाइपास गरेर राजाराम महतोलाई टिकट दिएको हरिनारायण पक्षधर नेताकार्यकर्ताको आरोप छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका हरिनारायण महतोले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै मिथिला नगरपालिकाको मेयरमा विजयी भएका थिए । मेयरका लागि उनले दोस्रो पटक दोहोरिन पार्टीमा आकांक्षा राखेका थिए । सोही अनुरुप उनलाई नगर कमिटीको बैठकबाट सर्वसहमतीले मेयरको उम्मेदवारका लागि सिफारिस गरेको थियो ।

तर, अन्तिम समयमा राजारामलाई टिकट दिएर उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका हरिनारायणले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । पछिल्लो समय मधेसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र मानिएको हरिनारायणले पार्टीको निर्णय विरुद्धमा उभिएपछि उनलाई फकाउन ओलीले काठमाडौं नै बोलाएका थिए ।

ओलीसँग सहमतिपछि हरिनारायणले आफ्नो उम्मेदवारी फिर्ता लिए । तर आईतबार भएको विवादले मिथिला नगरपालिकामा एमाले भित्रको असन्तुष्टि छताछुल्ल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip