काठमाडाै— निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी निर्वाचन आचारसंहितामा कुनै अस्पष्टता भए स्पष्ट पार्न तयार रहेको जनाएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रस्तावित निर्वाचन आचारसंहिताका केही प्रावधानका बारेमा दलले आग्रह गरे स्पष्ट पार्न तयार रहेको बताए ।
प्रमुख प्रतिपक्षीलगायत केही दलले निर्वाचन आचारसंहिताका केही बुँदाप्रति असहमति जनाएका छन् । आचारसंहिताको पूर्ण पालनाबाट मात्रै स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न हुने उल्लेख गर्दै उनले दलबाट पनि आचारसंहिताको पूर्णपालना गर्ने प्रतिबद्धता व्यक्त भइरहेको जानकारी दिए ।
आयोगले यही चैत २२ गते स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा निर्वाचनमा भाग लिने दलबाट प्रतिबद्धता लिनेसम्बन्धी बैठक सम्पन्न गरेको थियो । “केही राजनीतिक दलले सोही बैठकमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभयो”, उनले भने, “केहीले अहिले आयोगमा आएर प्रतिबद्धता दिँदै हुनुहुन्छ ।”
निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगले सुक्ष्म अनुगमनकर्तामार्फत निगरानी गर्ने तयारी गरेको छ । केन्द्रदेखि नै जिल्लास्तरमा संयन्त्र बनाएर अनुगमन गरिने सहप्रवक्ता अर्यालले बताए ।
निर्वाचन अधिकृतलाई प्रशिक्षण प्रदान गर्न बुधबार निर्वाचन व्यवस्थापन तथा सञ्चालन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको आयोगले जनाएको छ । मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागीले यही चैत ३० र आगामी वैशाख २ गते प्रदेशस्तरमा आठ स्थानमा मुख्य निर्वाचन अधिृकत, निर्वाचन अधिकृत र निर्वाचन अधिकारीलाई प्रशिक्षण गर्नेछन् ।








