धनुषा— जनकपुरधामस्थित मधेस प्रदेश निर्वाचन कार्यालय अगाडी जनमत पार्टीका नेताकार्यकर्ताहरुले धर्ना दिएका छन् । शुक्रवार पार्टीको धनुषा कार्यसमितिको नेतृत्वमा प्रदेश निर्वाचन कार्यालय अगाडी नेताकार्यकर्ताहरुले नाराबाजी गर्दै धर्ना दिएका हुन् ।

विगत करिब दुईमहिनादेखि कृषकहरुको समस्यालाई अघि सार्दै किसान आन्दोलनमा होमिएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीले चुनाव अघि किसानको माग पूरा गर्नुपर्ने अडान राख्दै आइरहेको छ । आफूहरुको मागलाई मातहतका निकायहरुले बेवास्ता गरेपछि बाध्य भएर प्रदर्शनमा उत्रिनु परेको पार्टीका मिथिला नगरपालिकाका नगर अध्यक्ष सरोज कुमार सिंहले बताए ।

धर्नामा सहभागी पार्टीका नेता तथा कार्यकर्ताहरुले ‘चुनावअघि किसानको माग पूरा गर, कृषिमन्त्री मूदार्वाद, मुख्यमन्त्री हाई–हाई, किसान आन्दोलन जारी छ’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । अगामी बैशाख ३० गते आसन्न स्थानीय तहको निर्वाचन अघि किसानको माग सम्बोधन गर्न दबाब स्वरुप निर्वाचन कार्यालयको मूल गेट अगाडी धर्ना दिएको जनमत पार्टीका धनुषा अध्यक्ष ओम विक्रम कुशवाहाले जानकारी दिए ।

‘यस विषयमा हामीले आयोगलाई केहि दिनअघि ज्ञापन पत्रसमेत बुझाएका थियौं । तर त्यस विषयमा कुनै सुनुवाई नभएपछि धर्ना दिएका हौं,’ अध्यक्ष कुशवाहाले अन्नपूर्णसँग भने । दबाब स्वरुपको यो आन्दोलनलाई समेत बेवास्ता गरे पार्टीले थप संघर्षको कार्यक्रम सार्वजानिक गर्ने पनि उनले उल्लेख गरे ।

यसअघि राउत आफैले पनि विरगञ्जमा पत्रकार सम्मेलन गरेर किसानका माग पूरा नभए स्थानीय तहको निर्वाचन अवरोध गर्ने धम्की दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय