• विजय कुमार सिंह

धनुषा— केही महिना अघिसम्म धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका ५० बर्षिय रामपुकार यादवको काम देखेर गाउँमा प्रायजसोले खेदो खन्थे । विगत दुई वर्षदेखि रामपुकारले गँड्यौला मल उत्पादन गरिरहेका छन् ।

पछिल्लो समय किसानहरु रसायनिक मलमा निर्भर भएको बेला रामपुकारले उत्पादन गरेको गँड्यौला मलमाथि गाउँका किसानलाई विश्वास नहुनु कुनै अनौठोको विषय थिएन । तर अहिले त्यसको ठिक उल्टो भएको छ ।

रामपुकारले गाउँका किसानको मन जित्न थालेका छन् । त्यस भेगमा अहिले गँड्यौला मलप्रति किसानको आकर्षण बढ्न थालेको छ । एउटा खाडल(पिट)बाट सुरु गरेको रामपुकारले अहिले आठवटा खाडल विस्तार गरेर गँड्यौला मल उत्पादन गरिरहेका छन् ।

दुई वर्षअघि धनुषाको विरेन्द्रबजारमा यूएनडिपीको आर्थिक सहयोगमा जनकपुरधामस्थित एक गैर सरकारी संस्था सामुदायिक सुधार केन्द्र (सिआइसी)ले गँड्यौला मल बनाउने तरिका र विधिसम्बन्धी तालिमको आयोजना गरेको थियो । त्यसै तालिमबाट आफूले गँड्यौला मल बनाउने तरिकाबारे गुण सिकेको रामपुकार बताउँछन् । उनका अनुसार तालिमका आयोजक संस्थाले मल उत्पादन गर्न प्रत्येक सहभागीलाई सात किलोको दरले गँड्यौला निशुल्क रुपमा उपलब्ध गराएको थियो ।

दुई बिघा जग्गामा कृषि खेती गर्दै आएका उनले सुरुमा आफ्नै खेतबारीमा प्रयोग गर्न गँड्यौला मलको उत्पादन सुरु गरेका थिए । तर गँड्यौला मलका प्रयोगले उत्पादनमा व्यापक फरक देखिएपछि व्यवसायिक रुपले यसको उत्पादन गर्ने मनसाय बनाएको उनी सुनाउँछन् ।

उनले करिब ६ कठ्ठामा आलु खेती गरेका छन् । ‘आलु वालीमा कुनै पनि रसायनिक मल दिएको छैन । गँड्यौला मलको प्रयोग मात्र गरेको छु । आलुको विरुवा अहिले पनि हरियो छ । रसायनिक मल प्रयोग गरेको अर्काको आलु खेती देखाउँदै रामपुकारले भने, ‘त्यस खेतको आलुको विरुवा हेर्नुस्, सबै सुक्न थाल्यो । पातहरु पहेलो भइसक्यो ।’

आफ्नो कृषि खेतीको उत्पादन देखेर गाउँका अन्य किसानले गँड्यौला मलको महत्व बुझ्दै गएको उनको भनाई छ । यसवर्ष मात्रै १८ क्वीन्टल गँड्यौला मल विक्री गरेको यादवले बताए ।

तर अब यसको महत्व धेरैलाई थाहा भइसक्यो । अहिले गाउँका मात्र नभएर टाँढा–टाँढाका किसान मल लिन यहाँ आउने गरेको छ

‘सुरुको दिनमा यो मलप्रति कसैलाई विश्वास थिएन । उत्पादित मल बिक्री गर्न समस्या थियो । तर अब यसको महत्व धेरैलाई थाहा भइसक्यो । अहिले गाउँका मात्र नभएर टाँढा–टाँढाका किसान मल लिन यहाँ आउने गरेको छ,’ खुशी हुँदै यादवले भने । छिट्टै आफ्नै नाउँमा एउटा कम्पनी दर्ता गराएर गँड्यौला मल बिक्री केन्द्र संचालन गर्ने योजना रहेको यादवले सुनाए ।

माटोको प्राकृतिक गुण कायम राख्नुकासाथै माटोको मलिलोपना बढाउन गँड्यौला मल एकदमै उपयोगी भएको कृषि प्राविधिक(जेटिए) नरेशचन्द्र बरबरिया बताउँछन् ।

गाउँघरमा गाई भैंसीको गोबर तथा पातपतिङ्गर प्रशस्त पाउने र मल बनाउन सजिलो हुने हुँदा गणेशमान चारनाथ नगरपालिकाका २५ जना किसानलाई दुई वर्षअघि गँड्यौला मल बनाउने तालिम दिइएकोे सामुदायिक सुधार केन्द्र (सिआइसी)का अध्यक्ष सन्जय साहले जानकारी दिए ।

गँड्यौला मल रासायनिक मल जत्तिको नै फाइदा दिने र यसको प्रयोगले माटोलाई केही पनि नोक्सान नगरी माटोको उर्वराशक्ति बढाउने भएकोले उत्पादनमा जोड दिन तालिम तथा प्राविधिक सहयोग गरेर किसानमा जागरुकता पैदा गर्ने प्रयासमा लागेको उनले बताए ।

रसायनिक मलको परनिर्भरता कम गर्ने हुँदा नेपाल सरकारले गँड्यौला मल उत्पादन तथा प्रबद्र्धन कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष साहको बुझाइ छ ।

रसायनिक मल तथा विषादीका कारण मानव स्वास्थ्यमा देखिइरहेका अनेकन् समस्यालाई न्यूनीकरण गर्न कृषि बालीमा गँड्यौला मलको प्रयोगमा कृषकलाई आकर्षित गर्नु सबैको दायित्व रहेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय