धनुषा— मधेश प्रदेशमा शुक्रवार विहानैदेखि हावाहुरीले वितण्डा मचाएको छ । तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण धनुषामा दुई विद्यार्थी र रौतहटमा एक महिला गरी तीनजनाको मृत्यु भएको छ ।
धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यु हुनेमा धनुषा सबैलाको महेन्द्र सदाकी ८ वर्षीया छोरी प्रतिमा कुमारी सदा र चन्देश्वर सदाका ७ वर्षीय छोरा अरविन्द सदाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता एवम डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनले ठूलो हावाहुरीका कारण विद्यालय प्राङ्गणमा रहेको मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको बताए ।
यस्तै रौतहटमा एक जना महिलाको घरमा च्यापिएर मृत्यु भएको छ । शुक्रवार दिउँसो करिब १२ बजे जिल्लाको बौधीमाई नगरपालिका १ अजगैबी बस्ने राम मंगल राय यादवकी ४५ वर्षीया श्रीमती फुलमतिया देवीको आफ्नै खपडाले छाएको गोठ घरमा मृत्यु भएको हो ।
घर गोठमा वसिरहेको अवस्थामा वर्षा र हावाहुरीको कारण घर भत्किन जाँदा इट्टा, खपडा र काठले च्यापिएर घाइते भइ उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
फाइल फोटो








