काठमाडौं— पशुपतिनाथ मन्दिरको छानो चुहिएर संरचनामै क्षति पुग्न लागेपछि जीर्णोद्धार गर्नुपर्ने भनी नापजाँच भएको पाँच वर्ष भयो तर अहिले पनि जीर्णोद्धारको काम थालिएको छैन । सामान्य टालटुल गरेर तत्कालीन समस्या समाधान गर्ने प्रयास भएको छ ।

वि.सं. २०७३ मा मन्दिर जीर्णोद्धार गर्नुपर्ने भई एक अध्ययन टोलीले मन्दिरको पहिलो तलाको भागमा नापजाँच गरेको थियो ।

पशुपतिनाथ मन्दिरभित्र मुसाले विभिन्न स्थानमा प्वाल पार्दै गएको र दलिनसमेत फेर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदन टोलीले दिएको थियो । अध्ययनअनुसार जीर्णोद्धार गर्नुपर्नेमा अहिले मन्दिरको गजुर क्षेत्रको बिग्रिएको छत्रावली मात्र मर्मत कार्य गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. घनश्याम खतिवडाका अनुसार मन्दिरको पहिलो तलाको मात्र अध्ययन भएको हुँदा जीर्णोद्धार गर्न नसकिएको हो । त्यसैले अब दोस्रो तला समेतको नापजाँच हुनेगरी कार्य अगाडि बढाइएको छ । कहाँ के समस्या छ भन्ने जाँच गर्न पनि समस्या रहेको छ ।

प्रचलनअनुसार वर्षको एक पटक बालाचतुर्दशीका दिन मात्र मन्दिरको माथिल्लो तलामा जान पाइन्छ । त्यसरी जान पाउने पनि पशुपतिनाथका बिसेट र भण्डारी मात्र हुन्छन् । उनीहरूलाई सबै प्राविधिक ज्ञान हुँदैन । तथापि उनीहरूलाई सामान्य प्राविधिक विषयमा जानकारी गराएर पठाइन्छ । तर त्यो अपूर्ण नै हुने गर्छ ।

डा. खतिवडाका अनुसार पशुपतिनाथका पुजारीसमेत कहिल्यै जान नपाउने मन्दिरको छतको भित्री भागमा नाथका बिसेट र भण्डारी मात्र जान पाउने भएकाले जीर्णोद्धारका लागि मन्दिरको दोस्रो तलामा उनीहरूबाटै नापजाँच र अवस्था अवलोकन गर्नुपर्ने भएकाले यसमा समस्या देखिएको हो । उनले भने, “जान पाउनेलाई तालिम दिएर नापजाँच गरायौँ । एक चरणको अध्ययन सकियो, दोस्रो चरणको काम हुन सकेको छैन ।”

मन्दिरको भित्री तलामा पटक–पटक जानुभएका बिसेट अरुण श्रेष्ठका अनुसार मन्दिरमा छानो चुहिएर दलिन मक्किएको छ । मन्दिरलाई टेक्ने गजवार मक्किएका छन् । मन्दिरको पहिलो तला अध्ययन गर्दा दलिन मक्किएको पाइएको थियो । दोस्रो तलाको थाहा छैन ।

जीर्णोद्धार पशुपति क्षेत्र विकास कोष एक्लैको निर्णयबाट पनि हुँदैन । यसमा पुरातत्त्व विभाग संलग्न हुन्छ । पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले पशुपतिनाथ मन्दिर जीर्णोद्धारका लागि सेवा र सर्त तयार भइसकेको बताए । पशुपति क्षेत्र विकास कोषले जीर्णोद्धारको अनुमति विभागलाई दिनासाथ विभागबाटै जीर्णोद्धारको थप प्रक्रिया सुरु हुने उनले बताए ।

पुरातत्त्व विभाग विश्वसम्पदा शाखा प्रमुख एवं सूचना अधिकारी सुरेशसुरस श्रेष्ठका अनुसार पशुपतिनाथ मन्दिर जीर्णोद्धार गर्न हतार भइसकेको छ । गारोको इँटा फुस्किएका छन्, पाताहरू उप्किएका छन् ।

उनले जीर्णोद्धारका लागि कोषलाई बजेट तयार गर्न भनिरहेको पनि बताउनुभयो तर यस कामका लागि खटिएका कोषका अधिकारीमध्ये केहीले अवकाश पाएका र केही सरुवा भएका कारण थप समस्या भएको बताइएको छ । त्यसैले अहिले चुहिएको ठाउँमा टाल्ने काम मात्र हुन सकेको छैन ।

इतिहासविद् डा. गोविन्द टन्डनका अनुसार लिच्छवि राजा सुपुष्पले सुरुमा झिँगटीको छानाको मन्दिर बनाएका थिए । काल क्रममा विभिन्न राजा महाराजाले सुनको मोलम्बासहितको पित्तलको छाना गजुरसहित चाँदीका ढोका र मन्दिरका भित्री थामलाई चाँदीले मोर्ने काम भएको थियो ।

उनका अनुसार पृथ्वीवीरविक्रम, त्रिभुवन र महेन्द्र शाह हुँदै राजा वीरेन्द्रका पालामा मन्दिरको भित्री भागमा सजावटको काम मात्र भएको थियो । गोरखापत्र दैनिकमा सरोज आचार्यले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय