काठमाडौं— नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्ठन बाँकेले आज कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध बनाएर लैजाने उल्लेख गर्नुभयो ।

नेता नेपालले एमसीसीका बारेमा सत्तारूढ दल र अन्य दलसँग छलफल भइरहेको बताउँदै एमसीसीकै कारण सत्ता गठबन्धन नतोडिने उल्लेख गर्नुभयो । उहाँले देशको हितमा हुने हरेक सम्झौतालाई समाजवादीले सहर्ष स्वीकार्ने भए पनि आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्वीकार गर्न नसकिने बताउनुभयो ।

संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको जनाउँदै उहाँले नेकपा (एमाले)प्रति लक्षित गर्दै प्रतिगामीलाई सफल हुन नदिने दावीसमेत गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति जनलहर बढ्दै गएको दावी गर्दै नेपाली जनताको विश्वास जित्न आफू लागेको उहाँको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) पार्टीका काम व्यवस्थित गर्दै पालिका तथा जिल्लामा कमिटी गठन भइरहेको चर्चा गर्दै उहाँले आगामी चुनावमा आफूले विजय प्राप्त गर्ने गरी काम गरेको बताउनुभयो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेका उपसचिव प्रमोद धिताल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ । बिहीबार बाँकेको कोहलपुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले धिताललाई पार्टी प्रवेश गराउनुभएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय