काठमाडौं— नेपाली कांग्रेसको अधिवेशनको क्रममा विवाद हुँदा सर्लाहीमा मन्त्रीका पीएसओले गोली चलाएका छन् ।
सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा कांग्रेस कार्यकर्ताबीच विवाद बढेपछि प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका पीएसओ प्रहरी हवल्दार रामचन्द्र खंगले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका हुन् ।
‘भीआईपीको सुरक्षामा खतरा देखिइसकेपछि पीएसओले गोली चलाउन सक्छ’, सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी माधव बुढाथोकीले भने, ‘पीएसओले एक राउण्ड हवाई फायर गरेको हो ।’
बलारा नगरपालिकाको वडा नम्बर ९ को अधिवेशनमा पुगेका मन्त्री सिंह र स्थानीय कार्यकर्ताबीच धकेलाधकेल भएको थियो ।
स्थानीय कार्यकर्ताले मन्त्रीले वडाअधिवेशनमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएका छन् । मन्त्रीले निर्वाचन अधिकारीहरुलाई नै हप्काउन थालेपछि स्थानीयले उनीमाथि हुलहुज्जत गरेका थिए ।
कार्यकर्ताको आक्रमणबाट हवल्दार खंगलाई पनि सामान्य चोट लागेको डीएसपी बुढाथोकीले बताए । साभारः नेपालखबर








