ढल्केबर— धनुषालगायत तराई क्षेत्रमा छठपर्वको नाउँमा भिख माग्नेहरुको सङ्ख्या ह्वात्तै बढेको छ । छठपर्व नजिक आउनै लाग्दा पेशेवर मगन्तेहरुले भिख माग्न थालेपछि स्थानीयलाई दिक्क लागेको बताइएको छ ।

अरु बेला आक्कलझुक्कल केही भिख माग्न आउने गरेकोमा अहिले ५० भन्दा बढी मगन्ते एउटै पसल तथा घरमा पुग्ने गरेको धनुषा ढल्केबरका प्रेम पौडेल बताउनुहन्छ । उहाँले भिख मागेर छठपर्व मान्ने परम्पराको दुरुपयोग गर्दै पेसेवर मगन्तेहरुले यसैको नाउँमा भिख माग्ने गरेको भन्नुभयो ।

‘आर्थिकरुपले सम्पन्न भए पनि कतिपयले भिख मागेर छठपर्व मान्ने भाकल गरेका हुन्छन् । तर अहिले भारतीय मुलुकबाट आएका करोडी समुदाय तथा गैर हिन्दूले पनि भिख माग्न थालेपछि वास्तविक भिक्षाटन गरेर छठपर्व मान्नेहरुलाई समेत नराम्रो दृष्टिले हेर्ने गरिएको छ, ‘पौडेलले भन्नुभयो ।’

यस्तै, भिख माग्नकै लागि जनकपुरधामस्थित बसबिट्टी, बसपार्क र बिन्धीको खाली चौरमा करिब दुई सय परिवार करोडी समुदायले पाल टाँगेर बसेका छन् । यहाँ बस्ने अभिभावक, श्रीमती र बालबालिका जनकपुरलगायत आसपासका गाउँमा आस्थाप्रति नै नकारात्मक भावना उत्पन्न हुनेगरी भिख माग्ने गरेका छन् । उनीहरु छठपूजामा अर्घ चढाउन प्रयोग गरिने कनसुप्ती लिएर दैलो–दैलोमा पुग्ने गरेका छन् ।

करिब दुई महिना अघिदेखि यहाँ बस्दै आएका उनीहरु दसैँ सकिएलगत्तैै भिख माग्न थालेका हुन् । उनीहरुले मिख माग्ने क्रममा आफ्ना नामथर समेत लुकाउने गरेका छन् । कसैले सोध्यो भने स्थानीय समुदायमा बसोबास गर्ने जाति र धर्मको नाउँ लिने गरेको जनकपुरका व्यापारी जगदिश भगतले भन्नुभयो । एकजनासँग नामथर सोध्दा सुरेश महतो नाम भनेको र आफू हिन्दु भएको जानकारी दिएको उहाँले सुनाउनुभयो । तर उसलाई छठपर्व मनाउने विधिबारे जानकारी नभएको भगतको कथन छ ।

छठप्रतिको आस्थाको कारण भिख दिने गरिएकाले पनि यसरी माग्नेकाे सङ्ख्या बढेकाे बताइएकाे छ । भिख माग्ने शैलीप्रति कतिपय व्यक्ति भने दिक्क मान्ने गरेका छन् । गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय