जनकपुरधाम— २८ माघ ०७७ मा प्रदेश २ सरकारले जनकपुरधामकी एसिड पीडित आरती साहलाई रोजगारी दिने घोषणा गरेको थियो ।

उपचार गराएर जनकपुर फर्किए लगत्तै प्रदेश सरकारले उनलाई जागिर र आर्थिक सहयोग गर्ने भनेको थियो । तर, हालसम्म पनि प्रदेश सरकारले कुनै सहयोग नगरेको आरतीको गुनासो छ ।

नयाँ आर्थिक वर्षको पहिलो महिना बित्नै लाग्दासमेत आरतीले न जागिर पाएकी छन् न त कुनै आर्थिक सहयोग नै । जागिर पाउने आश्वासन पाएपछि निरक्षर आरतीले सामान्य लेखपढ गर्न त्यतिबेलादेखि नै ‘ट्युसन’ क्लास लिइरहेकी छन् ।

“जागिर पाउने आशमा सामान्य लेखपढ गर्न शुल्क तिरेर पढिरहेको छु,” उनले भनिन्, “सरकारले जागिर दिने आश छ । साउनदेखि नै जागिरमा बोलाउने भनिएको थियो । तर, अहिलेसम्म बोलाएको छैन् ।”

प्रदेश सरकारले आफूमाथि विभेद गरेको आरतीको आरोप छ । “वीरगञ्जकी एसिड पीडितलाई घर पुगेरै आर्थिक सहयोग गरियो । म आफैँ कैयौँपटक मधेस भवन धाएपनि कसैले वास्ता गरेका छैनन्,” आरतीले भनिन् । उनलाई सरकारले जागिर नै नदिने हो कि भन्ने पिर छ । अहिले रकम अभावका कारण उनलाई उपचारमा कठिनाइ भइरहेको छ ।

एसिड प्रहारबाट आरतीको शरीरको १५ प्रतिशत भाग जलेको छ । दाहिने आँखा समेत गुमेको छ । उनलाई प्रत्येक महिना चेकजाँच गराउन काठमाडौं पुग्नुपर्छ । उनी केहीदिन अघि मात्रै चेकजाँच गराएकी फर्किएकी हुन् । उनका अनुसार प्रत्येकपटक जाँदा दस हजारभन्दा बढी खर्च लाग्छ । जिल्ला प्रशासन कार्यालयले उपचारका लागि जान आउन सवारी उपलब्ध गराउने भनेर पटकपटक भन्ने गरेको भएपनि जाने बेला अनेक बाहना देखाउने गरेको उनको गुनासो छ ।

“अस्पतालमा अप्रेसन खर्च मात्र सरकारले व्यहोरेको छ,” उनले भनिन्, “आउँदा जाँदा लाग्ने खर्च, खाना खर्च र अन्य सबै आफैँ तिर्नुपर्छ ।”

अहिलेसम्म काठमाडौंकी ‘एक दिदी’ले ५० हजार र जनकपुरधामका मेयरले ५० हजार मात्र सहयोग गरेको उनले बताइन् ।

साभारः बाह्रखरी डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय