• शैलेन्द्र महतो

जनकपुरधाम— ८ लाख घुसकाण्डमा मुछिएका धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आँखा चिम्लेको छ।

१७ फागुन २०७७ मा स्टिङ अपरेसनको क्रममा ८ लाख घुस फालेर फरार राउतमाथि मुद्दा दर्ता गर्न अख्तियारले हालसम्म आलटाल गरेको छ।

घटनाको पाँच महिना बढी बितिसकेको छ। घुस रकम फालेर तीन महिना फरार रहेका अध्यक्ष राउत जेठको अन्तिम साता धरौटी तथा जमानतमा रिहा भएका थिए। धरौटीमा छुटेका उनले आफ्नो पदभार सम्हालेका छन्।

कार्यालयदेखि हरेक सार्वजनिक कार्यक्रममा सरिक हुने गरेका छन्। आफूलाई अख्तियारले फसाएको र पछि सफाइ पाएर आएको भन्दै जनताको आँखा छल्दै आफूलाई चोख्याउन खोजिरहेका छन् राउत।

तर पाँच महिना बढी समय बितिसक्दा समेत अख्तियार भने अझै उनको स्टिङ अपरेसनको अनुसन्धान पुरा नभएको भन्दै पन्छिरहेको छ।

अध्यक्ष राउतमाथि हालसम्म अनुसन्धानकै क्रममा रहेको र कहिले मुद्दा दायर हुने विषयमा भन्न नसकिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए।

‘अध्यक्ष राउतमाथि अहिलेसम्म मुद्दा दायर भएको छैन। अनुसन्धानकै क्रममा छ’ प्रवक्ता रिसालले भने।

कहिले मुद्दा दर्ता हुन्छ भन्ने प्रश्नको जवाफमा प्रवक्ता रिसालले भने ‘ विशेष अदालतमा कहिले मुद्दा दर्ता हुन्छ भन्न सकिँदैन। अनुसन्धान टुंगिएको छैन। अनुसन्धानमा जे देखिन्छ त्यही तथ्य र प्रमाणको आधारमा अख्तियार अगाडि बढ्छ।’

कतिपय घटनामा अनुसन्धान छिटो टुंगेपछि छिटो मुद्दा दायर हुने तर, कतिपयको अनुसन्धानको थप प्रमाण, कागजात बुझ्नुपर्ने भएकाले मुद्दा दायर गर्न समय लाग्ने उनको भनाइ छ।

गापा अध्यक्ष राउत धरौटी बुझाएर जमानतमा छुटेको प्रवक्ता रिसालले बताए। कति धरौटी बुझाएको विषयमा आफूलाई समेत जानकारी नभएको उनले बताए।

गापा अध्यक्षको घुस काण्डको करिब सबै प्रमाणहरु अख्तियारमा पुगेको छ। अध्यक्ष राउतले गाउँपालिकाको भवन निर्माणको भुक्तानीको लागि निर्माण कम्पनीसँग घुस मागेको मोबाइल रेकर्ड, घुस लिने बेलाको भिडिओ अख्तिारसँग सुरक्षित छ।

त्यति मात्र होइन उनलाई गाउँपालिकाको गाडीबाट हाम फालेर उम्काउन सहयोग गर्ने चालक वीरबहादुर मगरले पनि बयान दिएका थिए। उनले अध्यक्षले घुस बापत रकम लिएको र अध्यक्षले नै सो रकम फालेर भागेको बयान दिएको भिडिओ रेकर्डका साथै घटनास्थलको मुचुल्का समेत अख्तियारले राखेको छ।

घटनाको एक सातापछि अख्तियारले पत्र पठाएर चालक, तिनका गतिविधि, गाउँपालिका कार्यालय परिसरमा नवनिर्मित भवनको सम्पूर्ण लागत, गाउँपालिका कार्यालयको जीपमा को सवार हुने गरेको लगायतका विषय एकिन गरी जवाफ पठाउन भनेको थियो।

सो पत्रहरूको जवाफ पनि गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत रुद्रनारायण यादवले पठाइसकेका छन्। झण्डै एक महिनाअघि पनि निमित्त प्रशासकीय अधिकृत यादवलाई अख्तियारले बयान लिएको थियो।

उक्त सबै प्रमाणहरू हुँदाहुँदै अख्तियारले हालसम्म मुद्दा दायर नगर्नु र धरौटीमा छाडेको भनिएको गाउँपालिका अध्यक्ष राउत खुलेआम आफ्नो सफाइ दिँदै हिड्नुले अख्तियारको कामकारबाही शंकास्पद बनेको छ।

गएको फागुन १७ गते गाउँपालिका अध्यक्ष राउतले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि सेवाग्राहीबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगरमा ८ लाख रुपैयाँ घुस बुझेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको केन्द्रीय टोलीले पछ्याएको थाहा पाएपछि उनी चढ्ने गाउँपालिका कार्यालयकै प्रदेश २–०२–००१ झ ०००२ गाडीमा चढेर भागेका थिए। भाग्ने क्रममा क्षिरेश्वरनाथ नगरपालिका ५ औरही खोलाको किनारमा लिएको ८ लाख रुपैयाँ घुस झाडीमा फालेका थिए भने चालकले तीव्र गतिमा गाडी चलाएर उनलाई बाटोबाटै भाग्न सघाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गाडी र चालक वीरबहादुर मगरलाई बटेश्वर बजारबाट नियन्त्रणमा लिएको थियो। घटनाको भोलिपल्ट अख्तियारले प्रेस विज्ञप्ति जारी गरी गापा अध्यक्ष आठ लाख रकम घुस फालेर भागेको र चालक पक्राउ परेको जानकारी गराएको थियो।

पहिलादेखि नेकपा (एमाले) को माधव नेपाल पक्षमा रहेका गापा अध्यक्ष राउत व्यापक भ्रष्टाचारको आरोप लाग्न थालेपछि कारबाहीबाट बाँच्नकै लागि ओली पक्षमा लागेका छन्। तत्कालिन प्रधानमन्त्री ओली पक्षले अध्यक्ष राउतलाई संरक्षण गरेको गाउँबासीको आरोप छ। त्यसै कारण राउतमाथि अख्तियारले अनुसन्धानको नाममा हालसम्म मुद्दा नगरेको आशंका स्थानीयको छ।

गएको वैशाख ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  ‘स्टिङ अप्रेसन’ सर्वोच्च अदालतले खारेज गरेपछि गापा अध्यक्ष राउतले उन्मुक्ति पाउने सम्भावना बढेको थियो।

तर सर्वोच्चको आदेशमा स्टिङ अपरेसनमा अख्तियारले उपलब्ध गराएको पैसा प्रमाणको रुपमा अस्वीकार गर्ने र अन्य प्रमाणको मूल्यांकनको आधारमा आरोप दावी ठहर हुने वा नहुने कुरा न्यायिक निरुपण गरिने उल्लेख छ। सर्वोच्च अदालतको आदेश पश्चात पनि अख्तियारले थुप्रै स्टिङ अपरेसन गर्नुका साथै विशेष अदालतमा मुद्दासमेत  दायर गरेको छ।

साभारः नेपालखबर डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय