जनकपुरधाम— धनुषाको लक्ष्मीनियाँ गाउँपालिका- २ को सिनरजोडा टोलमा हिजोआज सन्नाटा छ। शोकमग्न स्थानीयमा आक्रोश पनि उत्तिकै छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमै मृत फेला परेका पल्टु रविदासकी श्रीमती रेणु पतिलाई सम्झँदै बरबराउँछिन् र घरिघरि मुर्छा पर्छिन्। आफन्तहरू जसोतसो उनलाई सम्हालिरहेका छन्।

बेला-बेला औषधी उपचार गर्दै सलाइन पानीसमेत चढाउनु परेको छ। घरमा दुई दिनदेखि चुल्हो बलेको छैन।

दुई दिनदेखि खाना निल्न नसकेकी रेणुले श्रीमानका ‘हत्यारा’ लाई त्यसैगरी झुन्ड्याइ देऊ भन्दै आक्रोश पोख्दैछिन्।

‘मेरो श्रीमानले पुलिसको के बिगारेको थियो र मारदियो? हामीलाई न्याय गरिदिनुस,’ घरमा पुग्ने सबैलाई उनी हार-गुहार गर्दैछन्।

छोरा गुमाएकी ७३ वर्षीया दानादेवी पनि उस्तै शोकमा छिन्। उनका आँखामा पनि आँसु थामिएका छैनन्।

‘मेरो छोरा कसरी फाँसी झुन्डिन सक्छ? निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भनिन्।

पल्टुको घरमा स्थानीय नेता, दलित अगुवा तथा अधिकारकर्मीको समेत आउजाउ बाक्लो छ। उनीहरूले न्याय तथा क्षतिपूर्तिका लागि पहल गर्ने आश्वासन दिइरहेका छन्।

४० वर्षीय पल्टु सदा शुक्रबार बिहानै ४ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए।

भेन्टिलेसनको तारजाली फिट गरिएको चेपमा रहेको रडमा आफ्नै गन्जीको पासोमा झुन्डिएको अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार आफ्नै भाइ अघुनु रविदासलाई कुटपिट गरी टाउकोसमेत फुटाइदिएको आरोपमा उनी हिरासतमा थिए।

ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी जाहेरी हेरेर धनुषा जिल्ला अदालतले असार १४ गते पल्टुलाई पक्राउ पुर्जी जारी गरेको थियो।

कुटपिट गरी फरार रहेका उनलाई असार १७ गते पक्राउ गरिएको थियो। अदालतबाट म्याद थप गरी अनुसन्धान पूरा भएपछि गएको साउन ७ गते उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा पेश गरियो। र, साउन ११ गतेको अदालतको आदेशले २ लाख रुपैयाँ धरौटी माग गरिएको थियो।

सो रकम तिर्न नसक्दा पल्टुलाई थुनामा राख्न कारागार कार्यालय सिन्धुली पठाउने तयारी थियो।

उनको मृत्यु भएको अघिल्लो दिन पल्टुकी श्रीमती रेणुले जिल्ला प्रहरी पुगेर आजै भोलिमा धरौटी बुझाएर उनलाई घर लाने योजना प्रहरीलाई सुनाएकी थिइन्।

‘आजैभोलिमा धरौटी बुझाएर निस्किने योजना थियो। तर २८ जना थुनुवासँग सुतेको बेला झुन्डिएको अवस्थामा उनको शव फेला पर्‍यो। पोष्टमार्टम भइसकेको छ। तर वहाँहरूले शव बुझ्न मान्नुभएको छैन्,’ डिएसपी मिश्रले भने।

पल्टुले झुन्डिएर आत्महत्या गरेको प्रहरी बताउँछ। पल्टुका परिवार, छिमेकी तथा दलित अगुवा प्रहरीले भनेझैं पल्टुले आत्महत्या गरेको मान्न तयार छैनन्।

‘घटना भएको अघिल्लो दिन प्रहरीले मलाई वहाँ (पल्टु) सँग कुरा गर्न दिइएन। वहाँलाई कुटपिट गरेको थियो। र त्यसको भोलिपल्ट मर्नुभयो,’ पल्टुकी श्रीमती रेणुले भनिन्, ‘दुई लाख रुपैयाँ बुझाएर एक/दुई दिनमा वहाँलाई घर ल्याउने हामीले तयारी गर्दै थियौं। त्यो व्यक्तिले कसरी आत्महत्या गर्नसक्छ? मलाई थाहै नदिई प्रहरीले पोष्टमार्टममा पठाइदियो।’

पल्टुका छोरा उमेश रविदासका अनुसार शुक्रबार बिहानै प्रहरीले ‘तिम्रो बुवा झुन्डिएर मरिसके। मुचुल्का उठाउन घरपरिवारका मान्छे आउनुपर्छ,’ भन्दै खबर गरेका थिए। उनका दुई जना काकाहरू विल्टु र सघुनीलाई प्रहरीले बिहानै बोलाएर प्रहरी कार्यालय लग्यो।

‘प्रक्रिया अघि बढाउन तिमीहरूले सही गर्नुपर्छ भनेर नमान्दा पनि प्रहरीले पटक-पटक भनेर हामीबाट सही गरायो। मेरो आमा पनि हुनुहुन्छ वहाँ पनि आउनुहुन्छ अनिमात्र सही गरौंला भन्दा प्रहरीले केही हुँदैन भनेर सही गराइहाले। अहिले सबैले मलाई तैंले किन सही गरेको भनेर टर्चर दिइरहेछन्,’ उनले भने।

फरेन्सिक डाक्टर, सरकारी वकिल, मानव अधिकार आयोगका सदस्य, जनप्रतिनिधलगायतका सबै पक्षलाई राखेर मुचुल्का उठाइएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले दाबी गरे।

प्रहरी हिरासतभित्र पल्टुलाई मारिएको दाबी गर्दै दलित अगुवाको नेतृत्वमा घटना भएकै दिनदेखि लगातर प्रदर्शन भइरहेको छ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्ति नदिए सशक्त आन्दोलनमा उत्रिने राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताए।

हिरासतभित्रै प्रहरीले कुनै हिसाबले उनको हत्या गरेको भन्दै सदाले धनुषाका एसपी प्रकाश रानाभाटलाई तत्काल निलम्बन गर्नसमेत माग गरे।

आर्थिक बोझ हुने र थुनामा बस्नुपर्ने तनावले उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ।

‘जसको खानपिनमै समस्या छ। घर परिवार चलाउन धौ धौ पर्छ। त्यस्तो व्यक्तिलाई अदालतले दुई लाख रूपैयाँ धरौटी तोकेपछि तनाव हुनु स्वभाविक हो,’ प्रहरी प्रवक्ता डिएसपी मिश्रले भने, ‘कसरी थेग्ने, काहाँबाट ल्याउने भन्ने तनाव भइहाल्छ नि। डिप्रेस्ड भएर आत्महत्या गरेको हुनसक्छ।’

सुरक्षा दिइने ठाउँमा मानिस मर्ने यस्तो घटना दु:खद भएको मानवअधिकारकर्मी विनोद महराले बताए।

‘प्रहरी संवेदनशील हुनुपर्छ। घटना छानबिन गरी पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्छ। यो हत्या वा आत्महत्या हो भनी पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने।

घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपी मसाद आलम खानको नेतृत्वमा ५ सदस्यीय विशेष छानबिन समिति गठन गरिएको डिआइजी रञ्जितकारले बताए।

कल सफा गर्ने विवादमा कुटपिट भएपछि थुना पुगेका पुल्टु

वर्षौंदेखि मनमुटाव रहेका पल्टु र उनका भाइ अघुनुबीच  केही दिनअघि झगडा परेको थियो। स्थानीयका अनुसार झगडा गर्नेबेला दुबै दाजुभाइ रक्सीले मातेका थिए।

पल्टुकी आमा दानादेवीका अनुसार झगडाको क्रममा पल्टुले बाँसको फटाले हिर्काउँदा अघुनुको टाउकोमा गहिरो चोट लागेको थियो। शरिरका विभिन्न भागमा चोटसँगै टाउको फुटेर ठूलै घाउ भएको थियो। उपचारका लागि उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरियो।

स्थानीयका अनुसार अघुनु र पल्टुका परिवारबीच स-साना विषयलाई लिएर लामै समयदेखि विवाद हुँदै आएको थियो।

पल्टुका छोरा उमेशका अनुसार अघुनुले सार्वजनिक कल मर्मतमा लागेको खर्च माग्दा उनका बुवा र काकाबीच विवाद भएको थियो। पल्टुले कलको पानी पिउँदा पनि कहिल्यै सरसफाइ नगरेको र मर्मतमा लाग्ने खर्च नदिँदा आफूले पानी नै पिउन नदिने भनेपछि विवाद भएको अघुनुले बताए।

‘दुई महिनादेखि कल बिग्रँदा हामीले नै मर्मत गराएका थियौं। तपाईं पनि सरसफाइ गर्नुस् र मर्मतमा लागेको खर्च दिनुस् भन्दा उहाँले मान्नुभएन। त्यहीँ विषयलाई लिएर झगडा पर्‍यो,’ उनले भने।

पल्टुकी श्रीमती रेणुले भने रक्सी खाएर आएका अघुनु घरमै पसेर कुटपिट गर्न थालेपछि श्रीमानले प्रतिवाद गरेको दाबी गरिन्।

‘दिनभर काम गरेर वहाँ घर आउनु भएको थियो। तर सधैंजसो रक्सी खाने मेरो देवरले मातेर गालीगलौज गर्दै थिए। पछि घरमै पसेर वहाँलाई कुट्न थाले। छेउमै इँटा खसेको थियो। त्यसमै खसेर उनको टाउको फुट्यो,’ उनले भनिन्।

अघुनुको उपचारमामा झन्डै ६ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ।

पल्टुका जेठा दाइ बिल्टुको जाहेरीले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो। रेणुलाई समेत प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो। करिब एक साता राखेर बालबच्चा सम्हाल्नु पर्ने भन्दै आफूलाई छोडिदिएको रेणुले सुनाइन्।

विपन्न परिवारका पल्टुको एक कोठे माटोको घर छ। वर्षायाममा घर चुहिने हुँदा माथिबाट प्लास्टिक टांगिएको छ। पल्टु र उनकी श्रीमती ज्याला-मजदुरी गरेर जिविका चलाउँदै आएका थिए।

साभारः सेतोपाटी डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

Skip