विशेष रिपोर्ट

आन्तरिक उडानको ५० प्रतिशत बुकिङ, वायुसेवा कम्पनीमा उत्साह

0 Shares काठमाडाैं- कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान असोज ५ गतेदेखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले ६ महिना व्यवसाय […]
[sharethis-inline-buttons]
आन्तरिक उडानको ५० प्रतिशत बुकिङ, वायुसेवा कम्पनीमा उत्साह

काठमाडाैं- कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान असोज ५ गतेदेखि नियमित सञ्चालन हुँदैछ ।

बन्दाबन्दीले ६ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् ।

स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन् ।

असोज ५ गतेदेखि उडान शुरू हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रवारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले बताएका छन् । अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ । शुरूआती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए ।

‘असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान शुरू हुँदैछन् । शुरूआती चरणमा बुकिङ उत्साहजनक छ, यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइने छ,’ उनले भने ।

एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने संघले जनाएको छ । शुरूको १ हप्ता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशत मात्र उडान अनुमति दिइएको छ । छिट्टै उडान संख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् ।

नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो हप्ता २०–२२ उडान गर्नेछ । बुद्धले आफ्ना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ । बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरूप उडान संख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताए ।

उनका अनुसार यती एयरलाइन्सको अहिले ५० प्रतिशत बुकिङ भइसकेको छ । शुरूमा करीब दैनिक १० उडान हुनेछ । अहिलेलाई विराटनगर, पोखरा र चीतवनमा दैनिक २ तथा अन्य गन्तव्यमा १–१ उडान गरिनेछ । सामान्यको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न भनेकाले कम उडान संख्या निर्धारण गरिए पनि क्रमशः यात्रुको मागअनुरुप उडान बढाउँदै लगिने प्रवक्ता बर्तौलाले उल्लेख गरे ।

सरकारले असोज १ गतेदेखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए । शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शतप्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी असोज ५ गतेदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् । शुरूमा आन्तरिक उडानका जहाजले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएको थियो । व्यवसायीले विरोध जनाएपछि शतप्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो ।

महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध थियो । अन्तर्राष्ट्रिय उडान भने भदौ १६ गतेदेखि सञ्चालनमा आएको छ । असोज १ गतेदेखि अन्तर्राष्ट्रिय उडान संख्या बढाउनुका साथै सार्वजनिक यातायातका साधन पनि सञ्चालनमा आएको छ । बन्दाबन्दीको ६ महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय पनि शुरू भइसकेको छ ।

यसैबीच वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै आन्तरिक हवाई उडान खोल्ने सरकारको निर्णयको स्वागत तथा आभार प्रकट गर्दै आन्तरिक उडानका लागि शुक्रबार पर्यटन मन्त्रालयबाट भएको निर्णय अनुरूप पूर्ण परिपालना गरी सबै वायुसेवाले उडान पुनः सञ्चालन गर्ने जनाएको छ । संघका अध्यक्ष रामेश्वर थापाले मन्त्रालय र नियामक निकायको निर्देशन पूर्ण पालना गर्दै कोभिड रोकथाम तथा जोखिम न्यूनीकरण गर्ने कार्यमा संघले सबै वायु सेवाको पूर्ण सहयोग रहने विश्वास दिलाएका छन् । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर