नयाँदिल्ली- कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकै दिनमा झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् । ए
कैदिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार गत २४ घण्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये नौ लाख १९ हजार १८ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयका अनुसार अरु ३४ लाख ७१ हजार ७८४ जना भने कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका छन् । भारतमा अहिलेसम्म ७५ हजार ६२ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । तीमध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।