• रोहित सिंह

महोत्तरी — कृषि तथा वन विश्वविद्यालय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस, बर्दिवासमा “जलवायु परिवर्तनको सन्दर्भमा कृषि सहयोगका लागि DSSAT मोडलमा क्षमता अभिवृद्धि” शीर्षकको पाँच दिने तालिम कार्यक्रम सुरु भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC), नेपालको सहयोगमा आयोजना गरिएको यो कार्यक्रम आजदेखि जेठ ९ गते, २०८२ सम्म सञ्चालन हुनेछ।

कार्यक्रममा कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत आर्मी इन्स्टिच्युट अफ एग्रिकल्चर साइन्सेसका संलग्न क्याम्पसहरूका प्राध्यापकहरू, विद्यार्थीहरू तथा विभिन्न गैरसरकारी संस्था (NGO) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) का प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ।

तालिममा प्रमुख प्रशिक्षकको रूपमा कृषि तथा वन विश्वविद्यालयका स्नातकोत्तर कार्यक्रम निर्देशक प्राध्यापक डा. सन्तोष मरहठ्ठा र त्रिभुवन विश्वविद्यालयका कार्यक्रम संयोजक प्राध्यापक डा. लाल प्रसाद अम्गाई रहेका छन्।

डा. अम्गाईले आफ्नो प्रशिक्षणमा जलवायु परिवर्तनको प्रभावको सन्दर्भमा भविष्यमा कृषि क्षेत्र कसरी अगाडि बढ्न सक्छ भन्ने विषयमा चर्चा गर्दै किसानहरू र सरोकारवालाहरूलाई सचेत गराउने तथा आवश्यक सुझावहरू प्रदान गर्नुपर्ने आवश्यकता औंल्याए। डा. मरहठ्ठाले भने DSSAT मोडल सञ्चालन सम्बन्धी प्रक्रिया र आवश्यक प्रोटोकल विकासमा केन्द्रित भएर प्रशिक्षण दिइरहनुभएको छ।

कार्यक्रमको उद्घाटन समारोहमा क्याम्पस प्रमुख अभिषेक श्रेष्ठले DSSAT मोडललाई विद्यार्थीहरूको अनुसन्धानमा प्रयोग गर्ने र प्राध्यापकहरूलाई समेत आगामी दिनमा यस्तो अनुसन्धानमा संलग्न गराउने लक्ष्य रहेको बताउनुभयो।
DSSAT (Decision Support System for Agrotechnology Transfer) एक वैज्ञानिक मोडल हो, जसको माध्यमबाट जलवायु परिवर्तनको सम्भावित असरहरू विश्लेषण गरी कृषि योजनाहरू बनाउने कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip