ढल्केवर,- धनुषाको ढल्केवरस्थित रहेको मिथिला उद्योग वाणिज्य संघको भवन निर्माणार्थ संगीतमय श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञ लगाइने भएको छ ।

मिथिला उद्योग वाणिज्य संघको आयोजनामा सो प्रयोजनका लागि यही चैत्र १७ गतेदेखि चैत्र २३ गतेसम्म भागवत सप्ताह लगाउन लागिएको मूल आयोजक समितिको संयोजक समेत रहेका संघका अध्यक्ष तेजनारायण साह (सन्तोष)ले जानकारी दिए । उनका अनुसार यो भव्य धार्मिक अनुष्ठान ढल्केवरस्थित खानेपानीको प्राङ्गणमा हुनेछ।

कार्यक्रमका मुख्य कथा वाचक श्री कृष्ण प्रणामी मन्दिर केन्द्रीय नवतन्धामका महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराज जी रहने संयोजक साहले जनाए । सप्ताह अवधिभर उनको वचनामृत मार्फत धर्म, भक्ति, कर्म र ज्ञानको गहिरो सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ ।

सप्ताहभरि श्रीमद् भागवत कथा वाचनसँगै संगीतमय भजन कीर्तन, प्रवचन तथा आध्यात्मिक कार्यक्रमहरूमा भक्तजनहरूको विशेष सहभागिता रहने यस भागवत सप्ताह ज्ञान यज्ञजस्ता धार्मिक अनुष्ठानले समाजमा अध्यात्मिक चेतनाको जागरण ल्याउने विश्वास गरिएको प्रचारप्रसार उपसमितिका सदस्यसमेत रहेका पत्रकार विजय कुमार साहले बताए ।

मिथिला क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व समेतलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिन लागेको यो कार्यक्रममा स्थानीय तथा बाह्य क्षेत्रका भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । आयोजक समितिले सबै श्रद्धालु भक्तजनहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक लाभ लिन अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip