- विजय कुमार दास
ढल्केवर— धनुषामा सम्पन्न टि २० वडा कप प्रतियोगिताको उपाधि आयोजक टिम आर एन ११ ले जितेको छ । अग्रगामी युवा क्लब द्वारा आयोजित टि २० वडा कप प्रतियोगिता अन्तर्गत आइतबार आर एन ११ र सितापुर क्रिकेट टिम बिच भएको फइनल खेलमा आयोजक टिम आर एन ११ ले ९ विकेटले जीत निकाल्दै उपाधि उचालेको हो ।
आर एन ११ ले टस जिति पहिलो बलिङ गर्दै ९६ रन खर्च गरि १२.३ ओभरमा सितापुर क्रिकेट टिमलाई अलआउट गरेको थियो । मिथिला नगरपालिका वडा नं. ८ स्थित क्रिकेट मैदानमा सितापुरले दिएको ९७ रनको लक्ष्य पछ्याएको आर एन ११ ले एक विकेट गुमाउँदै ११.२ ओभरमा जित निकालेको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु दस हजार तथा सिल्ड थियो भने दोस्रो पुरस्कार नगद रु पाँच हजार तथा सिल्ड प्रदान गरिएको छ ।

फागुन ७ गते बुधबार देखि सुरु भएको खेल आइतबारसम्पन्न भएको छ । आर एन ११ क्रिकेट टिमका खेलाडी सञ्जय महतोले पुरै खेलमा ११३ रन र १३ विकेट हासिल गरी म्यान अफ द सिरिज बन्न सफल भएको हो भने अन्तिम खेलमा पनि ३ दशमलव ५ ओभरमा २४ रन दिँदै पाँच विकेट लिई म्यान अफ दि म्याचको उपाधि पनि हासिल गरेको हो । तीन खेल खेल्दै गगन लामाले ९१ रन लिइ उत्कृष्ट ब्याट्सम्यान हुन सफल भएको हो ।
समापन समारोहमा उपस्थित प्रमुख अतिथि मिथिला नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकीले खेलको महत्व दर्शाउँदै खेल मैदानहरूलाई अझ व्यवस्थित बनाउनु पर्ने बताइन् ।

प्रतियोगिताको संयोजक तथा समापन समारोहका अध्यक्ष उदित नारायण सिंहले अब आउने दिनमा अझै भव्यता तरिकाले प्रतियोगिता गराउने योजना रहेको उल्लेख गरे ।










