- फुलगेन मगही
धनुषा— धनुषाको लक्ष्मीनिया गाउँपालिकाको बजेट ६ महिनापछि पारित भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोले समन्वयकारी भूमिका निर्वाह गरेपछि गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट सर्वसम्मत पारित भएको हो ।
गत असार १० गते नै गाउँपालिकाको १२ औं गाउँसभामा अध्यक्ष भोगेन्द्र मिश्रले आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेट पेश गरेका थिए । तर, जनप्रतिनिधिबीचको विवादले उक्त बजेट पारित हुन सकेको थिएन ।
गाउँपालिका अध्यक्ष मिश्रले आर्थिक वर्ष २०८१/८२ का लागि ४५ करोड ११ लाख ७९ हजार ९१० रुपैयाको अनुमानित बजेट गाउँसभामा प्रस्तुत गरेका थिए । उक्त बजेट पुस २३ र २४ गतेको छलफलबाट सर्वसम्मत पारित भएको छ ।
गाउँसभाले चालु खर्चतर्फ ८ करोड ३० लाख ९९ हजार ९१० रुपैया बजेट छुट्याएको छ । आर्थिक विकास र समाजिक विकासतर्फ समान ३ करोड ५४ लाख ३९ हजार ८०० रुपैया, पूर्वाधार विकासतर्फ ७ करोड ८ लाख ७९ हजार ६०० रुपैया बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले जानकारी दिए ।
गाउँपालिका उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, सुकुम्वासीहरुको वैज्ञानिक व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर लक्ष्मीनियाँ गाउँपालिका पहिचान कायम राखे र योजनावद्ध शहरीकरण तथा वस्ति विकासलाई यस नीति तथा कार्यक्रमले प्रमुख प्राथमिकताहरुको रुपमा लिइएको अध्यक्ष मिश्रको भनाइ छ ।
ढिलै भएपनि गाउँपालिको बजेट पारित भएकोमा जनप्रतिनिधिहरु खुशी व्यक्त गरेका छन् । जसरी भएपनि बजेट पारित भएको छ । यो जनप्रतिनिधिको लागि खुशीको कुरो हो । यसका लागि हाम्रो पालिकाका हाकिम सा’ब विशेष धन्यवादका पात्र हनुहुन्छ,’ आफ्नो नाम उल्लेख नगर्न भन्दै एक गाउँसभा सदस्यले भने ‘उहाँ यो पालिकामा हाजिर भएदेखिनै बजेट पारितका लागि खटिनुभएको थियो । सबै विवाद साम्य पारेर सर्वसम्मत रुपमा बजेट पारित गराउनुभएको छ । उहाँको सकारात्मक प्रयास सफल भयो । राष्ट्रसेवक कर्मचारी भनेको यस्तो पो हुनुपर्छ ।’
यता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महतो बजेटपारित भएसँगै गाउँपालिकामा विकास निर्माणलगायतको कामले गति लिने विश्वास व्यक्त गर्छन् । ‘बजेट पारित हुँदा सबै खुशी हुनु स्वभाविक हो । जनप्रतिनिधिबीचको समन्वय गराउने दायित्व प्रशासकीय प्रमुखको पनि हुन्छ । त्यो दायित्व मात्रै मैले निभाएको छु । मेरो प्रयासले सकारात्मक नतिजा ल्याएको छ,’ प्रमुख प्रशासकिय अधिकृत महतोले भने ‘सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी साथी र समस्त गाउँवासीलाई धन्यवाद ।’








