ढल्केवर— धनुषाको ढल्केवरमा विषादी विश्लेषण प्रयोगशालाको उद्घाटन गरिएको छ । मंगलवार एक कार्यक्रमकाबीच ढल्केबरस्थित कृषि उपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइको उद्घाटन गरिएको हो ।
जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले समुद्घाटन गरेसँगै उक्त प्रयोगशाला विधिवत रुपमा सञ्चालनमा आएको हो ।
संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेको केन्द्रीय कृषि प्रयोगशालाले ढल्केवर कृषि बजारमा एकाइको स्थापना गरेको कृषि उपज बजार व्यवस्थापन समिति ढल्केवरका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिए । उनका अनुसार हरियो तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

केन्द्रिय कृषि प्रयोगशाला प्रमुख डा. शान्ता कार्कीको अध्यक्षतामा आयोजित प्रयोगशाला उद्घाटन कार्यक्रममा कृषक तथा व्यापारीलाई केन्द्रिय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत बिबेक सुनुवारले विषादी अवशेषका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा केन्द्रीय कृषि प्रयोगशाला प्रमुख डा. कार्कीले खेतबारीमा कति मात्रामा विषादी छर्कने र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबार जानकारी दिए । उनका अनुसार परीक्षण विधिलाई ‘आरबीपीआर’ (विषादी अवशेष द्रुत विश्लेषण) भनिन्छ । यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ ।
प्रयोगशालाको उद्घाटन गर्दै जिल्ला समन्वय सभापति मण्डलले मापदण्डभन्दा बढी विषादी प्रयोग गरिएको पाइएमा तरकारी तथा फलफूल नियन्त्रणमा लिएर नष्ट गर्नुपर्ने उल्लेख गरे ।
ढल्केवर कृषि बजारमा गत साउन १४ गतेदेखि प्रयोगशालामा ताजा तरकारी तथा फलफूलहरुको ट्रायलका रुपमा विषादीको अवशेष परीक्षण गरिरहेका छन् । हालसम्म ५७४ वटा नमुना परीक्षण गरिएकोमा एउटा नमुनामा मात्रै क्वारेन्टाइन गर्नुपर्ने रिपोर्ट देखाएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला ढल्केवर एकाइ प्रमुख नायव प्राविधिक सहायक रमेश मगरले जानकारी दिए ।
‘आलुमा विषादीको मात्रा भेटिएको थियो । त्यो आलु पनि काठमाडौंबाट आएको थियो । त्यसलाई केही दिन क्वारेन्टाइन राख्न भनेर हामीले सिफारिस ग¥यौं,’ प्रमुख मगरले भने ।

प्रयोगशाला उद्घाटन कार्यक्रममा मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकी, कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादव, प्राधनमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाका प्रमुख ललन कुमार सिंह, मिथिला नगरपालिका वडा नं १ का वडाध्यक्ष जोगी महतो, ६ का वडाध्यक्ष नन्द किशोर यादव, ७ का वडाध्यक्ष रामबहादुर स्याङ्दन, मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सन्जय कुमार महतोलगायतको उपस्थिती रहेको थियो ।










