काठमाडाैं— नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र वेस्ट इन्डिजमा अर्को महिना हुने आईसीसी टी-२० विश्वकपका लागि क्रिकेट टोली घोषणा गरेको दिन बुधबार राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने भावुक भएका छन् । 

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएका सन्दीपको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ । सम्भवतः उनले विश्वकप टोली घोषणा हुनुअघि नै आफ्नो मुद्दाको छिनोफानो चाहेका थिए ।

त्यसो त सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले केही दिनअघि कि जेल पठाउनुपर्ने कि खेल्न पठाउनुपर्ने भनेका पनि थिए । तर उच्च अदालतले पेसी सारेको सार्‍यै गर्दा विश्वकप टोली घोषणा गर्ने दिन आइसक्दा पनि सन्दीपको मुद्दा किनारा लाग्न सकेन ।  यसैकारण सन्दीप निराश भएका हुन सक्छन् । 

उनले लामो समयपछि फेसबुकमा स्टाटस लेख्दै आफू षड्यन्त्रको सिकार भएको दाबी गरेका छन् । साथै उक्त षड्यन्त्र रच्नेप्रति उनले घुमाउरो भाषामा आक्रोश पनि व्यक्त गरेका छन् । अनि सबै कुरा आफूले भगवान् भरोसामा छाडेको पनि बताएका छन् ।

‘मैले पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको सिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान्‌ले आशिष दिउन्’, सन्दीपले अंग्रेजीमा लेखेका छन्, ‘म सबै कुरा भगवान्‌मा छाड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।’

यसबीच उच्च अदालतले सन्दीपको पुनरावेदन सुनुवाइका लागि तीनपटक पेसी नतोकेको होइन । तर वैशाख ३ गतेको पहिलो पेसीमा उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रोपटक जन्मदर्ता बनाउँदा गाउँपालिकामा दिएको निवेदन माग्न आदेश दियो ।

त्यसपछि  वैशाख १० गते उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पेसी तोकिए पनि सन्दीपको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखियो ।  फेरि वैशाख १६ गते न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा पेसी त तोकियो तर समय अभाव भन्दै मुद्दा सुनुवाइ गरिएन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Skip