काठमाडाैं— उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताएका छन् । रुस–युक्रेनबीच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको उनको स्पष्टिकरण थियो ।

मंगलवार साँझ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दूतावासमार्फत आफूले पाएको बताए ।

नेपालस्थित रुसी राजदूतलाई बोलाएर सेनामा भर्ना भएका नेपालीहरुलाई फर्काउने विषयमा निरन्तर संवाद गर्न आग्रह गरेको बताए । मन्त्री श्रेष्ठले उनीहरुसँग गरिएको सम्झौता रद्ध गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन पनि नेपाल सरकारले रुस सरकारसँग अनुरोध गरेको बताए । त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले युक्रेनको कब्जामा रहेका नेपाली नागरिकहरुको रिहाईका लागि पनि रुस सरकारसँग आग्रह गरिएको बताए ।

उनले भने, ‘रुसी सेनामा भएको नेपाली नागरिकहरु जे सम्झौता गरेका छन्, त्यो सम्झौता रद्ध गर्न, सबैलाई नेपाल फिर्ता गर्न पनि अनुरोध गरेका छौं । र केही रुसी सेनामा रहेका नेपाली नागरिकहरु युद्धमा युक्रेन सरकारद्वार बन्दी अवस्थामा राखिएको भन्ने पनि हामीलाई जानकारी प्राप्त भएको छ । उनीहरुको रिहाईका लागि सम्पूर्ण पहल र प्रयत्न अगाडि बढाई दिन पनि हामीले अनुरोध गरेका छौं ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारले रुसी सेनामा रहेका ज्यान गुमाएका नेपालीहरुको क्षतिपूर्तिको उचित व्यवस्था गर्न र त्यसको प्रक्रिया अघि बढाउन पनि रुस सरकारललाई ताकेता गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय