सप्तरी— सिके राउतको गृहजिल्ला सप्तरीबाट जनमत पार्टीले खाता खोलेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका तर्फबाट बिरेन्द्र माझीले नगर प्रमुखमा निर्वाचित भएर खाता खोलेका हुन् ।
जम्मा १४ वडामध्ये दुई वडा अध्यक्ष मात्र जितेको जनमत पार्टीका माझीले सुरुदेखि नै लिएको अग्रता अन्त्यसम्म कायम राखेर १ सय ६१ मत अन्तरले जित हाँसिल गरेका हुन् । अन्तिम मतपत्र गणनामा माझीले ६ हजार ४०७ मत ल्याए ।
मतगणनाको अन्त्यमा मत अन्तर कम गर्दै ल्याए पनि निवर्तमान नगर प्रमुख शैलेशकुमार साह ६ हजार २४६ मतमा सिमित हुन पुग्दा प्रमुख पद गुमाउन पुगे ।
पराजित साह मधेश प्रदेशको समाजिक विकासमन्त्री नवल किशोर साहका छोरा हुन् । गत स्थानीय तहको निर्वाचनमा साहले यिनै माझीलाई पराजित गरी नगर प्रमुख बनेका थिए । २०७४ को निर्वाचनमा राजपाबाट नगर प्रमुखमा निर्वाचित हुँदा साहले ५ हजार ७२० मत ल्याएका थिए ।
त्यतिबेला संघीय समाजवादी फोरमबाट उम्मेदवार भइ निकटतम प्रतिद्वन्द्वी रहेका माझीले ४ हजार ३६५ मत ल्याएका थिए ।
जसपाले हनुमाननगर कंकालिनी नगरपालिकामा प्रदेश मन्त्रीका छोरा साहलाई नै उम्मेदवार बनाउने निश्चित देखेपछि माझी जनमत पार्टीमा प्रवेश गरी उम्मेदवार बनेका हुन् । सप्तरीको सबैभन्दा सुरक्षित र निश्चित विजय ठानेको हनुमाननगर कंकालिनी नगरपालिकामा प्रमुखको हार पछि जसपाका कार्यकर्ता झस्किएका छन् ।
कुल १४ वडा मध्ये उपप्रमुखसहित ७ वडामा भने जसपाले प्यानलसहित जित हाँसिल गरेको छ । उपप्रमुखमा सरीता सिपलिया यादव फेरि पनि निर्वाचित भएकी छिन् । गत निर्वाचनमा समेत राजपाबाट ५ हजार ४१७ मत ल्याएर सिपलिया उपप्रमुख बनेकी थिइन् ।








