धनुषा— धनुषामा पहिचान खुल्न नसकेको पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका अन्दाजी १७ बर्षीय प्रेशिस थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।
शुक्रवार राति पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–५ ढल्केवरस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०२–००३प ६४७२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको पिकअपले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । ठक्करदिने पिकअप फरार रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक मिथिला नगरपालिका–६ ढल्केवरका अन्दाजी १८ बर्षीय मनिष कुमार थापा र मोटरसाइकलमा सवार सोही ठाउँका अन्दाजी १७ बर्षीय प्रेशिस थापा गम्भिर घाईते भएका थिए ।
घाइते दुवैजनालाई विराटनगरस्थित न्यूरो अस्पताल लगेकोमा प्रेशिसको उपचारको क्रममा राति साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए । उनका अनुसार अर्का घाइते मनिषको उपचार विराटनगरमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो ।
ठक्कर दिने पिकअप सेतो रंगको रहेको भन्ने खुलेकाले एउटा पिकअपलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।








