धनुषा— मधेश प्रदेशका राजधानी जनकपुरधामबाट सात महिने एक नाबालकलाई चोरी गरेर भाग्ने तीनजालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २० वर्षीया किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादव छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

बुधबार साँझ करिव ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन् ।

प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरी एलिजा खातुन भाइसँग खेलिरहेको बेला रातो साडी लगाएर आएकी मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई शिशुलाई लिएर फरार भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको टोलीले खोजतलास गर्दै जाँदा सोधपुछ तथा अनुसन्धानबाट बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम–१९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरले जानकारी दिए ।

घटनाको समयमा मनिषासँगै रहेको आफ्नो बच्चा भनिएकी २ वर्षीय नन्दनी मुखियालाई अर्को पक्राउ परेकी महिला किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर भागेको एसपी रजौरेले बताए ।

पक्राउ परेका कृष्ण कुमारले मनिषासँग १३ हजार रुपैयाँ लिई बच्चा उपलब्ध गराउने सर्त राखेको कुरा अनुसन्धानमा खुलेको उनले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय