चितवन— चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

गैँडा, बँदेललगायत वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासीले नियन्त्रणको माग गर्दैै वडा कार्यालयमार्फत निकुञ्जलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मध्यविन्दु नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थान, इटौरा, रतनपुरलगायत क्षेत्रमा निकुञ्जबाट आउने गैँडा, बँदेललगायत वन्यजन्तुका कारण असुरक्षा बढेको भन्दै जनाबर बस्ती प्रवेशमा रोक लगाउनका लागि माग गरिएको हो ।

मध्यविन्दु–३ ब्रम्हस्थानका सूर्यप्रसाद पौडेलले गैँडा र बँदेलका कारण गाउँमा लगाइएको अन्नबाली नष्ट हुने गरेको बताए ।

“निकुञ्जबाट आउने जङ्गली जनावरका कारण हामीले लगाएको अन्नबाली पूरै स्याहार्न पाउँदैनौँ”, पौडेलले भने, “दिउँसै बस्तीमा गैँडा पस्न थालेपछि हामीलाई कामधन्दा गर्न बाहिर निस्कन पनि समस्या हुन थालेको छ ।” विगत एक महिनादेखि यस क्षेत्रमा नियमित जस्तो दिउँसै गैँडा आउन थालेका छन् ।

गाउँलेले जङ्गली जनावरलाई गाउँ छिर्न रोक्नका लागि मेसजाली लगाउने तथा फेन्सिङ वायर (विद्युतीय तारबार) को काम तुरुन्त गर्न मध्यविन्दु–३ वडा कार्यालयमार्फत मध्यवर्ती क्षेत्र, नगरपालिका र निकुञ्जको ध्यानाकर्षण गराएका छन् ।

जङ्गली जनावरका कारण गाउँमा त्रास फैलिँदासमेत निकुञ्ज र नजिकै भएको मध्यवर्ती समितिसमेत बेखबर बसेको भन्दै स्थानीयवासीले हस्ताक्षरसहित ध्यानाकर्षण गराएका हुन् । दिउँसै गाउँमा गैँडा पस्न थालेपछि यहाँका बासिन्दा काममा जानसमेत डराउन थालेका स्थानीयवासी बुद्धिराम बोटेले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Skip