काठमाडौं— नेपाल विद्युत् प्रधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार पदभार ग्रहण गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनी चार वर्षका लागि नियुक्त भएका हुन् ।
यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङ २०७७ भदौमा चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए ।
अघिल्लो कार्यकालमा लोडसेडिङ हटाउनेलगायत सुधारका काम गरेपछि घिसिङ लोकप्रिय भएका थिए । उनको पदावधि सकिएसँगै पुनर्नियुक्तिका विभिन्न व्यक्तिहरूले आवाज उठाएका थिए ।
तर, तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले घिसिङलाई पुनर्नियुक्ति नगरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो । नयाँ सरकार गठन भएसँगै कुलमानको नियुक्ति भएको हो ।
ऊर्जामन्त्री पम्फा भुसालले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन् । घिसिङलाई प्राधिकरणमा ल्याइसँगै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई ऊर्जा आयोगमा नयाँ पद सिर्जना गरी सरुवा गर्ने व्यवस्था गरेको थियो ।








