सप्तरी— सप्तरीको सुरुंगा नगरपालिका- ७ पोखरियाकी ज्योती पासवान आत्महत्या प्रकरणमा उनका प्रेमीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

अन्तरजातीय प्रेम विवाह गरी ज्योतीलाई चार महिनासँगै बसेर पछि एक लजमा अलपत्र छाडेर फरार स्थानीय २५ वर्षीय कृष्ण मिश्रविरुद्ध आत्हत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो।

ज्योतिका बुबा प्रमोदले आत्महत्या दुरुत्साहन ज्यान सम्बन्धी शीर्षकमा दिएको जाहेरी मंगलबार साँझ दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए। इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ता भएको हो।

ज्योतीका बुबा प्रमोदले दिएको जाहेरीमा कृष्णले ललाइफकाइ छोरीलाई घरबाट लिएर गइ यौन शोषण गरी छाडेपछि छोरीले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ।

जाहेरीमा कृष्णलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उप दफा २ बमोजिम दण्ड सजाय गरी क्षतिपुर्ति दिलाइदिन माग गरिएको छ।

गएको फागुन १० गते स्थानीय अखिलेश मिश्रका छोरा कृष्णले आफुहरुबीच गहिरो प्रेम सम्बन्ध रहेको भन्दै ज्योतीसँग विवाह गर्ने सर्तमा ज्योतिका अभिभावककै सहमतिमा उनलाई लिएर हिँडेका थिए। चार महिना ज्योतीसँगै बसेका कृष्णले जेठ ३० गते लहानको पुष्पाञ्जली लाजमा ज्योतीलाई छाडेर फरार भएका थिए। त्यसयता उनी सम्पर्कमा छैनन्।

कोठा खोजेर आउँछु भन्दै ज्योतीलाई लाजमा अलपत्र छाडेर उनी फरार भएका हुन्। ज्योतीलाई असार २ गते  परिवारजन र प्रहरीले लाजबाट उद्धार गरेको थियो।

लजबाट बुबाआमासँगै घर गएकी ज्योती पछिल्लो समय कृष्णले दलित भनेर नै आफुलाई यौनशोषण गरी धोका दिइ भागेको भन्दै चिन्तामा थिइन्। त्यसले उनमा डिप्रेशनको समेत समस्या सिर्जना भएको अभिभावकको भनाई छ।

२३ साउनको बिहान ८ बजे आफ्नै घरको भान्छा कोठामा पासो लगाइ आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो।

साभारः नेपालखबर डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय