रौतहट— रौतहटमा विद्यार्थी भर्ना विषयमा दुई पक्षीय झडप भएको छ । रौतहटको माधवनारायण नगरपालिका- ४, स्थित मावि विष्णुपूर्वामा आइतबार अपराह्न दुई पक्षबीच झडप भएको हो ।

झडपमा दुबै पक्षका गरी १३ जना घाइते भएको रौतहट प्रहरीले जनाएको छ । विद्यालयका प्रधानाध्यापक राजेश यादव तथा विद्यालयको व्यवस्थापन समितिका पूर्वध्यक्ष देवनारायण भगत मालीको समूह र वडा ४ का वडाध्यक्ष रामदेनी मुखियाको समूहबीच झडप भएको हो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगतको गत वैशाखमा निधन भएको थियो । व्यवस्थापन समितिको अध्यक्षका लागि माओवादीबाट निर्वाचित वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखियासहितले आफ्नो पक्षबाट अध्यक्ष हुने बताउँदै आएका थिए । जसपा पक्ष मानिने पूर्वध्यक्ष मालीका नाति पारस भण्डारीसहित प्रधानाध्यापकको समूहले आफू अनुकुलकै मान्छे अध्यक्ष हुनुपर्ने अडान राख्दै आएका थिए ।

विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै हुन पाउने प्रावधान छ । त्यसैका लागि आइतबार वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए ।

तर, प्रअले विद्यार्थी र अभिभावकलाई ल्याए मात्रै भर्ना गर्ने बताएपछि दुबै पक्षबीच भनाभन हुँदै झडप भएको हो । झडपमा एउटा पक्षका ७ र अर्को पक्षको ६ जना गरी १३ जना घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी शिद्धिबिक्रम शाहले जानकारी दिए ।

दुबै पक्षका मुख्य एक-एक जना गरी दुई जना प्रहरीको नियन्त्रणमा रहेको उनले बताए । ‘मुख्य दुई जना हाम्रो नियन्त्रणमा छ,’ उनले भने, ‘बाँकीको उपचार हुँदै छ । सबै सामान्य घाइते छन् । घटना विषयमा आवश्यक अनुसन्धान र कारबाही हुँदैछ ।’

साभारः शिलापत्र डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय